Latest Update :

मुम्बइमा धमाका मच्चाउँदै मनिषा कोइराला



अभिनेत्री मनिषा कोइराला अब मुम्बइमै स्थापित हुने सोँचका साथ काम सुरु गरेकी छिन् । मनिषाले अब बलिउड फिल्म उत्पादन तथा निर्देशनमा जम्ने सोँच बनाएको बताइएको छ । मुम्बइमै बसेर एम के मुभिङ इमेज नामको प्रोडक्सन हाउस खोलेर त्यसलाई चम्काउने लक्ष्यका साथ उनले काम अघि बढाएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

राम गोपाल बर्माको प्रोडक्सन हाउस जस्तै आफ्नो प्रोडक्सन हाउसलाई पनि भव्य बनाउने उनको दाबी छ । आफ्नो प्रोडक्सन हाउसमा केवल फिल्म उत्पादन मात्र नभएर वितरण तथा वित्तिय व्यवस्था लगायतका सबै संरचना रहने मनिषाले बताएकी छन् ।

यसअघि कुनै काम गर्दा पनि खासै गम्भीर नदेखिने मनिषा अहिले भने निकै गम्भीरताका साथ काम गरिरहेको र प्रोडक्सन हाउसलाई सफल बनाउन हरतरहबाट आत्मविश्वास जुटाउने कोसिस गरिरहेकी छिन् ।

आफ्नो स्वाथ्यलाई राम्रो राख्न नियमित योगामा संलग्न हुने गरेको भन्दै मनिषाले आफुले अब बलिउडमा निकै छानेर मात्र फिल्म खेल्ने बताइन् । राम गोपाल बर्माको भुत रिटन्र्स पूरा गरेसँगै अब अर्को फिल्मको बारेमा आफुले सोँचिरहेको उनी बताउँछिन् ।

मनिषाले आफ्नो व्यक्तिगत जिन्दगीका बारेमा बताउँदै अहिले आफुले परिवारजनसँग बढि समय बिताउने गरेका र विभिन्न समारोह तथा पार्टीमा समेत उतिसारो नजाने गरेको बताइन् ।

वैवाहिक जीवन असफल भएको बारेमा लामो सास तान्दै मनिषाले भनेकी छिन्, ‘केही मानिस बिहेको लागि बनेका हुन्छन् तर कोही हुँदैनन् । म बिहेका लागि बनेकी होइन रहेछु । अहिले हामी दुइ -म र पूर्व श्रीमान) अलग भैसकेका छौँ । हामी दुबै राम्रा मान्छे हौँ, उसको परिवार पनि निकै राम्रा छन् । मैले उसको परिवार र उसको पनि मन दुखाउन चाहन्न । ऊ र उसका परिवारको इज्जत गर्छु ।’ मनिषाले डिभोर्सको मुख्य कारण नखोलेपनि आफ्नो भाग्यमा बिहे नलेखेको भएरै आफ्नो वैवाहिक सम्बन्ध असफल भएको संकेत गरेकी छिन् । यस अर्थमा उनले आफ्नो डिभोर्समा भाग्यलाई नै दोष दिएकी छिन् भन्ने विश्लेषण गर्नु अन्यथा नहोला ।

तर जे होस, वैवाहिक जिवनको असफलतापछि जुन जोसका साथ मनिषाले मुम्बइमा काम सुरु गर्दैछिन् त्यसको सफलताको शुभकामना दिनैपर्छ ।

स्रोत : अनलाइन खबर
 

0 comments: On मुम्बइमा धमाका मच्चाउँदै मनिषा कोइराला

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.