Latest Update :

Hot and Happening in Nepali Bazzar


So this is last Month Issue, that made some what negative to our Nepali Modeling  era. This article is snipped for our entertaining Paper Saptahik. Check it out ---

साउन ३० गते, आइतबार बिहानका अखबारहरूमा प्रकाशित एउटा खबरले नेपालको मोडलिङ क्षेत्रमा सनसनी मच्चायो । यसैपनि बेइज्जतिको भुमरीमा घुमिरहेको मोडलिङ क्षेत्रलाई त्यो खबरले बदनामीकै खाडलमा जाक्न खोजेको पाइयो । खबर पढेर मोडलिङसँग आबद्ध कतिपयलाई चिनेजानेकाहरूले लोप्पा ख्वाउन मात्र बाँकी राखे । वास्तवमै त्यो खबर मोडलिङ पेसामा आबद्ध सम्पूर्ण संघ, संस्था तथा व्यक्तिहरूलाई झकझकाउने किसिमकै थियो । मोडल रूपमा केही चर्चा बटुलेकी रमिता भण्डारी तथा उनकी साथी मोडललाई विदेशमा केटी बेचेको आरोपमा प्रहरीले पक्राउ गरेको समाचारले मोडलिङ पेशामा आबद्ध एजेन्सी तथा व्यक्तिहरू चकित भए ।

शनिबार ललितपुरको इमाडोलबाट ती दुई युवतीलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूम्ााथि एउटी अर्की महिलाले झुक्याएर विदेशमा लगेर नांगो नाच नचाइने रेस्टुराँमा पुर्‍याइएको आरोप लगाएकी छिन् । ती महिला हुन्, काठमाडौंकी अनिता नकर्मी । जनसेवा प्रहरीका प्रहरी निरिक्षक अवदेश विष्टका अनुसार कुटपिट र असुलीको आरोपमा अनिताले प्रहरीमा लिखित जाहेरी दिएपछि रमिता तथा अर्की मोडललाई सोधपुछका लागि बोलाइएपछि उनीहरूको बयान तथा अनिता र रमिताबीचको विवादले मुद्दाको स्वरूप फेरियो । त्यसपछि अनुसन्धानका लागि अवदेशले उक्त मुद्दालाई जिल्ला प्रहरी कार्यालय, हनुमानढोका पठाइदिएको बताए । रमिताकी साथी तथा अर्की मोडल भने उक्त घटनामा निर्दोष देखिएकीले उनलाई छाडिएको छ भने सिंगापुर बस्दै आएका रमिताको साथी रबल श्रेष्ठलाई भने अनुसन्धानकै लागि प्रहरी नियन्त्रणमा राखिएको छ ।

घटनाक्रम

रमिताका दाई रमेशमणी भण्डारी निकै वर्षदेखि सिंगापुर बस्दै आएका छन् । पारिवारिक सूत्रका अनुसार उनी सिंगापुरका बिजनेस कार्डवाहक हुन् । रमिताका प्रेमी रबल श्रेष्ठ -प्रहरी बयानमा जसलाई उनले आफ्नो श्रीमान् बताएकी छिन्) पनि सिंगापुरमै बस्छन् । त्यसैले पनि रमिता २००६ देखि सिंगापुर आउने-जाने भैरहेकै थियो । गत फेब्रुअरीमा रमितासंग अनिता रमिताकी मोडल साथी तथा अर्की एक डान्सर युवतीसँगै सिंगापुर उडेका थिए । रमिताका अनुसार उनीहरू २३ दिन सँगै बसेर रमाइलो गरे । यताबाट उड्ने अघिल्लो दिन रमिता अनिताकै घरमा बसेकी थिइन् र उनीहरू अनिताकै घरबाट साइतको टीका लगाएर बिदा भएको उनको भनाइ छ । उनको भनाइ स्वीकार गर्ने हो भने रमिता र अनिताबीच पृष्ठ १ बाट जारी

गहिरो मित्रता भएको पुष्टि हुन्छ । अनिताको भनाईमा उनीहरुबीच पारिवारिक नाता भएकाले विश्वासको सम्बन्ध थियो । रमिताकी आमा चन्द्रादेवी भण्डारीले जनाएअनुसार अनिताको परिवारसँग उनीहरूको पारिवारिक सम्बन्ध छ । अनिता रमिताकी बहिनीकी नन्द हुन् । विवाहित अनिताकी एउटी छोरी पनि छिन् । अनिताका दाइले रमिताकी बहिनीलाई भगाएर विवाह गर्दा रमिताको परिवारको उनीहरूसँग सामान्य विवाद भएको थियो । जुन विवाद प्रहरीसम्म पुगेको थियो । यद्यपि त्यो विवाद त्यतिबेलै साम्य भैसकेको रमिताकी आमाका साथै अनिताका दाइ पनि बताउँछन् ।

अनिताले जनसेवा प्रहरीमा दिएको जाहेरीअनुसार सिंगापुर जाने क्रममा उनले ७ हजार ८ सय सिंगापुर डलर अर्थात रु. ५ लाख ७७ हजार २ सय नेपाली रुपैयाँ दिएको र सिंगापुरबाट फर्किएपछि उक्त रकम माग्दा आफूमाथि कुटपिट भएको थियो ।

गत मंगलबार दुवै हातमा हथकडी लगाएको अवस्थामा रमितालाई जिल्ला प्रहरी कार्यालय, हनुमानढोकामा भेट्दा उनले दावी गर्दै भनिन्- 'मैले ऊसँग पैसा लिएकै छैन ।' अनिताको दावी छ कि उनको परिवारले नेपालबाट उनको नाममा पैसा पठाएको र सिंगापुरमा आफ्नो एकाउण्ट खोल्न नमिल्ने भएकाले त्यो पैसा उनले रमिताको दाइको एकाउन्टमा जम्मा गरेकी थिइन्, तर त्यो कुरा गलत भएको रमिताको दाबी छ । रमिताले भनिन्- 'कार्यक्रमको सिलसिलामा हामी सिंगापुर जाने-आउने गरिरहेका थियौं । शनिबार पनि म साथीसंग सिंगापुर जाँदै थिएँ ।' रमिताले अडान लिँदै भनिन्- 'उनी ब्युटिसियनको ट्रेनिङका लागि सिंगापुर गएकी होइनन् । अनिताको उद्देश्य सिंगापुर गएर स्टुडेन्ट पास एप्लाई गरेर पढ्ने थियो । उनी उता त्यसका लागि प्रयत्न गरिरहेकै अवस्थामा हामी स्वदेश फर्कियौं । त्यसपछि के भयो, हामीलाई थाहा छैन । हाम्रो दोष यति मात्र हो कि उनी हाम्रो साथ लागेर उता गएकी थिइन् ।' अनिताले भने उक्त भनाइको खण्डन गरेकी छिन् । -हेर्नुहोस् बक्स)

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद पंगेनीका अनुसार अब यो मुद्दामा सरकार वादी भैसकेको छ । उजुरी अनिताले गरे पनि मानव बेचबिखेनको अभियोगमा रमितामाथि जिल्ला अदालतमा मुद्दा चलाइसकिएको छ । पंगेनीले भने- 'मुद्दाको सुनुवाइ नभएसम्म मानव बेचबिखेनजस्तो जघन्य अपराधको अभियोग लागेकाले अनुसन्धानका क्रममा पुर्पक्षका लागि कम्तीमा छ महिना थुनामा राख्न सकिन्छ ।' यदि अभियोग प्रमाणित भयो भने नेपालको प्रचलित कानुनअनुसार मोडल रमिता भण्डारीले १५ वर्ष कैद सजाय पाउन सक्ने उनले बताए ।

काम लगाउने भनी पर्यटक भिसामा सिंगापुर लगिए पनि दुई महिनामै भिसा सकिएर स्वदेश र्फकनुपरेको अनिताले प्रहरीलाई बताएकी छिन् । स्वदेश फर्किएपछि रमिताकै पहलमा उनी काठमाडौंमा लुकेर बसेको अनिताको भनाइ छ । परिवारले काठमाडौंमै भएको थाहा पाएपछि उनलाई घर लगेको बताइन्छ । 'यदि त्यसो हो भने र्फकनेबित्तिकै उनले किन उजुरी गरिनन् ? तत्काल किन घर परिवारको सहयोग लिइनन् । जबकि उनको र मेरो परिवारबीच राम्रै सम्बन्ध थियो र मैले उनलाई कतै बन्धक बनाएर राखेकी थिइनँ । उनी आफै लुकेर बसेकी थिइन ।'

-रमिताले उक्त कुराको खण्डन गर्दै भनिन् । प्रहरी भनाइमा यो एउटा 'र्‍याकेट' हो, जसमा रमिता कुनै न कुनै रूपमा सामेल छिन् । प्रहरी नायब उपरिक्षक केदार ढकाल भन्छन्- 'गल्ती गर्नेले कहिल्यै आफूलाई गलत भन्दैन । रमिताको मुद्दा पनि त्यस्तै हो । उनी कुनै न कुनै रूपमा यो मुद्दामा सामेल हुनुपर्छ । त्यो कुराको अनुसन्धान भैरहेको छ ।' जनसेवा प्रहरीका निरीक्षक अवदेश विष्ट यो मुद्दामा लहरो तान्दा पहरो जान सक्ने कुरालाई नकार्न नसक्ने बताउँछन् । उनले भने- 'मेरो मातहतबाट मुद्दा हनुमानढोका पुगिसकेको छ । अनुसन्धान गर्दा केही नाम चलेका मानिस पनि नपर्लान् भन्न सकिँदैन ।'

रमिता भने प्रहरीले आफुलाई फसाउन खोजेको बताउँछिन् । उनले भनिन्- 'यदि प्रहरीले मलाई अपराधी मान्छ भने प्रमाण दिनुपर्‍यो ।' उनका अनुसार प्राप्त भिडियो र केही तस्बिरलाई प्रमाण मान्न सकिँदैन । यस विषयमा जान्न खोज्दा प्रहरी स्रोतले अनुसन्धानकै क्रममा रहेकाले भिडियो र तस्बिरमा भएका कुरा खुलस्त बताउन वा देखाउन नमिल्ने बतायो । हिरासतमा रहेका रमिताका पति रबल श्रेष्ठ को उक्त मुद्दासँग कुनै सम्बन्ध नभए पनि प्रहरीले उनलाई बिनाकारण थुनामा राखेको भन्दै रमिताले आपत्ति जनाएकी छिन् ।

काम खराब होइन

यो मुद्दाका कारण मोडलिङ क्षेत्रमा नकारात्मक प्रभाव परेको कुरालाई नकार्न सकिूदैन । पेसागत रूपमा स्थापित नभएको अवस्थामा मोडलिङलाई पेसा बनाउन खोज्ने युवापुस्ताप्रति समाजको दृष्टिकोण नकारात्मक हुन सक्ने अनुमान लगाउन सकिन्छ । अर्कातर्फ अन्य वेबसाइटहरूका लागि पनि तस्बिर खिचाएकी रमिताको मुद्दाको खबरमा आफ्नो साइटको मात्र नाम उल्लेख गरिएकोमा साइबरसंसार डटकमका सञ्चालक अभिनव कसजुले आपत्ति जनाएका छन् । मोडलिङका लागि तस्बिर खिचाउनु र कुनै अभियोगमा पक्राउ पर्नु फरक कुरा हो, तर रमिताका बारेमा प्रकाशित खबरहरूमा साइबरसंसार डटकमको नाम मात्र अखबारहरूमा प्रकाशित गरिएकोमा उनले खेद प्रकट गरेका छन् । प्रहरी नायब उपरिक्षक केदार ढकाल भन्छन्- 'मोडलिङ गर्नु, चलचित्रमा अभिनय गर्नु नराम्रो काम होइन । त्यो पनि इज्जतदार पेसा हो ।' ढकालको रायमा कानुनले तोकेका कुनै पनि काम खराब हुँदैनन्, बरु काम गर्नेहरू खराब हुनसक्छन् ।


को हुन् रमिता भण्डारी ?

मोडलिङ क्षेत्रमा परिचित नाम हो, रमिता भण्डारी । सन् २००२ को मिस नेपालकी एक प्रतिस्पर्धी रमिताले सन् २००० मा सम्पन्न मिस्टर एन्ड मिस हेटौंडामा मिस हेटौंडाको उपाधि जितेकी थिइन् भने आईसीको फेसन विकलगायत दर्जनौं फेसन शोमा सहभागिता जनाइसकेकी थिइन् । उनले अल नेपाल मोडल कम्पिटिसन-२००२, बेस्ट कपल अफ द इयर-२००३ मा पनि उपाधि जितेकी थिइन् । दर्जनौं विज्ञापन तथा म्युजिक भिडियोमा पनि उनले अभिनय गरेकी छिन् । यसका साथै रमिताले आफ्नै स्वर, सङ्गीत र साहित्यमा एकल गीति एल्बम टिनएजर्स’ निकालेकी थिइन् । यसका साथै उनले ँअधुरो प्रेम’ शिर्षकमा एउटा कृति पनि सार्वजनिक गरेकी थिइन् । मूलघर हेटौंडा भए पनि उनी ललितपुरको इमाडोल बस्दै आएकी थिइन् । ५ फिट ७ इन्च अग्ली रमिताले बीबीएससम्मको अध्ययन पूरा गरेकी छिन् ।

कुरा अनिताको

काठमाडौंको ओमबहाल बस्ने अनिता नकर्मी विवाहित महिला हुन् र उनकी सात वषर्ीया छोरी पनि छिन् । सामान्य ब्युटिसियनको कोर्सपछि एड्भान्स कोर्ष गर्न उनी विदेश जान चाहन्थिन् । त्यही सन्दर्भमा सिंगापुरमा ब्युटिसियनको एडभान्स टे्रनिङ गराउने भनेर रमिताले उनलाई सिंगापुर पुर्‍याएको नकर्मीको दाबी छ । उनले साप्ताहिकसँग भनिन्- 'हामी फागुन १० गते मेरै घरबाट साइत जुराएर एयरपोर्ट गएका थियौं । रमिताका साथमा उनकी एउटी मोडल साथी र अर्की एक जना डान्सर युवती पनि थिइन् । मलाई त्यहाँ भिजिट भिसामा लगिएको थियो । रमिताले उता पुगेपछि वर्किङ पास दिलाउने आषा देखाएकी थिइन् । सिंगापुर पुगेपछि एक महिनाजति हामी पारिवारिक वातावरणमा रमाइलो मानेर बस्यौं । त्यतिबेला हामीसँग उतै बस्ने उसको दाइ रमेश र श्रीमान् रबल पनि थिए । आज-भोलि गर्दागर्दै मसँग भएको पैसा पनि सकिन लाग्यो, तर पनि उनीहरूले आषा देखाउन छाडेका भने थिएनन् । आफ्नी भाउजूकी दिदी भएकीले मैले रमितालाई पूरा विश्वास गरेँ । समय कटाउन एउटा फ्याक्ट्रीमा हप्ताको चार दिन प्याकेजिङको काम पनि गरेँ ।

त्यतिबेलासम्म मैले उनीहरूको रहन सहन तथा व्यवहार नजिकबाट जान्ने मौका पाइसकेकी थिएँ । यद्यपि मेरो काम हुन्छ कि भन्ने आषा ममा थियो । मैले त्यतिबेला घरबाट पैसा मगाए र रमिताको दाइको खातामा जम्मा गरिदिएँ । दाइले भने आफ्नो कुलतमा त्यो पैसा सकेछन् । उनीहरू यहाँबाट फकाएर केटीलाई लाने र डान्सबारमा डान्सर नभए रेस्टुराँमा वेटर काममा लाग्न विवश पार्दा रहेछन् भन्ने पनि थाहा पाइसकेकी थिएँ । मेरो भिसा सकिन लागेपछि मलाई मलेसिया गएर आउने र सिंगापुरको नियमअनुसार फकर्ंदा इमिग्रेसनले एक महिनाको भिजिट भिसा दिने बताइयो । त्यही आषामा मलेसिया पुगेर र्फकंदा मैले भिसा पाइनँ । त्यतिबेलासम्म रमिता काठमाडौं फर्किसकेकी थिइन् ।

म पनि काठमाडौं आउने भएँ । रमिताले मलाई फकाई-फुल्याई यहींबाट पासको व्यवस्था गरिदिने र त्यसका लागि केही दिन कुर्नुपर्ने बताएर एयरपोर्टमा लिन आएर सुटुक्क उनको इमाडोलको घरमा लगेर बन्धकजस्तो गरी राखिन् । मेरा श्रीमान् तथा परिवारलाई म सिंगापुरमै छु र त्यहाँ काम गरिरहेकी छु भन्ने भ्रममा राखियो । नौ दिन बित्दा पनि पासको व्यवस्था नभएपछि मैले रमितासँग गुनासो गरेँ । केही महिला डान्सरलाई सिंगापुर पठाउन लागेको र त्यसबाट पैसा आएपछि मेरो पास मिलाइदिने भनेर मलाई सोह्रखुट्टेस्थित होटल रिभर साइड होलिडे इनमा पुर्‍याइयो । रमिताले मलाई होटल बाहिर ननिस्कनु भन्ने सुझाव दिएकी थिइन् । म पनि त्यत्रो धेरै पैसा सकेर खाली हात श्रीमान् र परिवारलाई भेट्दा बेइज्जत हुने डरले उनले भने जस्तो गरिरहेँ । यद्यपि मलाई दिइएको ल्यापटपबाट श्रीमान्सँग च्याट गरिरहन्थे । मैले त्यतिबेला श्रीमान्लाई म सिंगापुरमै छु र काम गरिरहेकी छु भनेर ढाँटिरहे । किनभने अझै रमिताप्रति आषा बाँकी थियो । मैले आफ्नै नाता पर्ने मान्छेले मप्रति छल गरिरहेकी छ भन्ने कल्पनासम्म पनि मैले गरेकी थिइन् । त्यसपछि म उनीसँग सल्लाह गरेर नजिकै एउटी दिदीको घरमा बस्न थालेँ । त्यतिबेलासम्म मैले परिवारलाई खबर गरेकी थिइनँ । रमिताले मलेसिया जाने व्यवस्था मिलाउन थालेपछि मलाई शंका लाग्यो । किनभने मलेसियामा पठाइने युवतीहरू खराब काममा लगाइन्छन् भन्ने मैले थाहा पाइसकेकी थिएँ । मैले जान्न भनेर आफ्नो परिवारको सम्पर्कमा आएँ । रमितासँग इमाडोलमा उनको घरमा श्रीमान्सँग भेटेर सबैकुरा राख्दा नराख्दै मनपरी बोलेर उनले मलाई लात्तीले हान्न थालिन् । मेरो श्रीमान्ले झगडा नगर भन्दाभन्दै पनि मलाई लखेटी लखेटी प्रहार गर्न थालिन् । भखरै महिनावारी सकिएको पेटमा हान्दा मेरो ब्लिडिङ पनि भयो । म श्रीमान्सँग घर फर्किए । पछि उनले जनसेवामा उल्टो मैले कुटेको भनी मौखिक जाहेरी दिइछन्, अनि मैले पनि उनका विरुद्ध बयान दिएपछि उनीहरूकै गल्ती देखेर प्रहरीले पक्राउ गरेको हो ।

0 comments: On Hot and Happening in Nepali Bazzar

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.