Latest Update :

Nepali Laghu Katha - Smrity Ko Yaad Ma

As usual this time too we have one of the Story from " जीवनको गोरेटोमा "  from Weekly Magazine Saptahik. Enjoy Reading this Story " स्मृतिको यादमा " below.

कुरा २०६३ फागुन महिनाको हो । म आफ्नो घरमा रेडियो सुन्दै काम गरिरहेकी थिएँ । अनाचक रेडियोको समाचारमा साथी स्मृतिको बेलसोत भन्ने ठाउँमा ट्रक दुर्घटनामा परी मृत्यु भएको खबर पाएँ । त्यसपछि म हतारहतार कटारी गएँ । कटारी गएर स्मृतिका आफन्तहरूसँग यथार्थ बुझेँ । लास पोस्टमार्टमका लागि लहानको नर्सिङ होममा पुर्‍याइएको रहेछ । साँझको ६ बजेतिर देवीधाप भन्ने ठाउँमा एम्बुलेन्सद्वारा लास ल्याइयो ।

मृतकका बुबा आफ्नी छोरी स्मृतिलाई अँगाल्दै रुँदै कराउँदै एम्बुलेन्स बसेरी लैजान चालकलाई अनुरोध गर्नुभयो । त्यसपछि एम्बुलेन्स बसेरीतर्फ हुइँक्याइयो । यात्रा रातको थियो त्यसमाथि अझ टाढा पनि ।

एम्बुलेन्सभित्र हामी लाससहित आठ जना थियौँ । एम्बुलेन्स ककुर खोलाको बाटो हुँदै बसेरीतर्फ दौडिरहेको थियो । रातको ९ बजेको होला एम्बलेन्स बसेरी खोलामा रोकियो । हामी सबैजना ओर्लियौं । लासलाई मृतककी बुबा र छिमेकी दाइले झिक्नुभयो । म र अर्की साथी लासभन्दा केही पर बस्यौं । एकैछिनपछि लास उठाएर घरमा पुर्‍याएका मात्र के थिए घरका सम्पूर्ण परिवारजन डाँको छोडी रुन थाले । त्यो रात निदाउनै सकिनँ । खाली आँखाभरि झलझली स्मृतिको तस्बिर आइरहन्थ्यो । यसरी नै बित्यो त्यो रात... ।

भोलिपल्ट बिहान म र साथी रेजिना सँगै उठ्यौं । बिहान लासलाई हेरी आँसु खसाल्नुबाहेक अरू केही गर्न सकेनौं ।

बिहानीको मिर्मिरे उज्यालोको आगमनसँगै स्मृतिको मृत शरीर माटोमुनि राख्ने तरखर भयो । स्मृतिको मृत शरीरभरि विभिन्न पुष्पगुच्छाहरू र अविरले शिरदेखि पाउँसम्म सजाइयो । उनलाई हेर्न बसेरी स्कुलका सम्पूर्ण शिक्षक एवं विद्यार्थीहरू ताँती लागेर आएका थिए । उनको मृत शरीरलाई अन्तिम संस्कार गर्ने क्रममा काठको बाकस बनाई खाल्टो खनेर राखियो । तत्पश्चात् उनको मुखमा दागबत्ती दिई माथिबाट माटोले पुरियो ।

त्यो दृश्य हेर्ने सबैका आँखाबाट आँसुका धारा बगेका थिए । स्मृतिका बुबाआमा, बहिनीहरू त्यो दृश्य हेर्न नसकी रोइरहेका थिए । त्यो पीडा सहन नसकी मैले केही आँसुका थोपा र दुई थुँगा फूल समर्पण गरी उनीबाट बिदा लिएँ । त्यसपछि म आफ्नै घर मरुवातर्फ लागेँ । बाटोभरि र मनभरि उनकै यादले सताइरह्यो । आज उनी मरेको तीन वर्ष भयो तैपनि कहीँ कतै जाँदा अर्थात् यात्रा गर्दा यो दुःखी आत्मालाई स्मृतिको यादले झस्काइरहन्छ, चस्काइरहन्छ ।

चण्डिका

0 comments: On Nepali Laghu Katha - Smrity Ko Yaad Ma

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.