Latest Update :

Scarcity of Actress In Kaliwood

बितेको वर्ष ०६६ मा नेपाली फिल्म उद्योगमा आशलाग्दा नवनायिका जन्मन सकेनन् ।
जसका कारण ०६७ मा पनि हिरोइनको अभाव खड्किएको छ । कतिपय निर्माता निर्देशक आफ्नो फिल्मका लागि नवनायिकाको खोजीमै छन् भने कतिपयले बाध्यतावश पुरानै नायिका दोहोर्‍याउनुपरेको बताउँछन् ।

अहिले चल्तीमा रहेका केही नायिकाको उग्रव्यस्तता, चर्काे डिमान्ड तथा सधँै उस्तै प्रस्तुति हेर्दा दर्शक वाक्क भइसकेकाले उनीहरूको विकल्पमा नयाँ हिरोइन जन्माउनुपरेको कथन निर्देशकहरूको छ । ०६६ मा रञ्जिता गुरुङ, ऋचासिंह ठकुरी, निशा अधिकारी, रुबि भट्टराई, उषा रजक, सुष्मा कार्कीलगायतका युवती हिरोइनको भीड थपिए । तर, उनीहरू अभिनीत फिल्मले व्यावसायिक सफलता हासिल गर्न नसकेपछि उनीहरूको फिल्मी करिअर आशालाग्दो देखिएको छैन ।
म्युजिक भिडियो तथा टिभी एंकरका रूपमा छाइरहेकी निशा अधिकारी मिसन पैसाबाट अघिल्लो वर्षै नायिका बनिन्, तर उनी एकल हिरोइन भएको पहिलो फिल्म नैना रेशम ०६६ मा प्रदर्शन भयो । जस्तो-तस्तो फिल्म नखेल्ने अडान राख्दै आएकी निशा नैना रेशमको असफलताले गर्दा अहिले चुपचाप छिन् । अब उनी कस्तो फिल्म खेल्छिन् त ? हेर्न बाँकी छ ।
कुसुमे रुमाल फिल्मबाट रुबि भट्टराई नायिका बनिन् । पुरानो सुपरहिट फिल्मको सिक्बेल नयाँ कुसुमे रुमालको अपार असफलताले गर्दा रुबिको सपना पनि धुमिल भयो । यद्यपि, उनले अर्काे फिल्म तिमी मेरो, म तिम्रो भने पाइन् । संगीतकार सुरेश अधिकारी निर्माता रहेको सो फिल्मको निर्माण अहिलेसम्म पनि पूरा भएको छैन । जसका कारण रुबिको कला देख्ने अर्काे मौका मिलेको छैन । भिडियो फिल्म वान डे र इकुमा अभिनय गरेकी उषा रजक पनि कुसुमे रुमालबाट नायिकाको रूपमा उदाइन् । उनको कामको प्रशंसा भए पनि कुसुमे रुमालको असफलताले गर्दा उनलाई पनि ओझेलमा पार्‍यो ।
नवल खड्काले निर्माण गरेको दसगजा फिल्मबाट रञ्जिता गुरुङ नायिका बनिन् । त्यसपछि पनि उनी गोर्खा पल्टनमा नायिका बनेकी छिन् । उनी अभिनीत फिल्म प्रदर्शन भइनसकेकाले उनको फिल्मी करिअरको पूर्वानुमान लगाउन गाह्रो छ । हो यही माया होबाट दीपक श्रेष्ठले जानकी केसी -अचेल जिया) लाई नायिका बनाएका छन् । उनी अभिनीत उक्त फिल्म पनि प्रदर्शन हुन बाँकी छ । त्यस्तै ०६६ को अन्तिमतिर सुमन दाहालको निर्देशनमा मन परेपछि नामक फिल्म सुरु भयो । जसबाट नयाँ युवती कल्पना शाही नायिका बनेकी छिन् । उनले हिरोइनको अभाव कत्तिको पूरा गर्लिन् ? त्यो भविष्यले बताउनेछ ।
अहिले पनि नेपाली फिल्ममा रेखा थापा, झरना थापा अनि अरुणिमा लम्सालहरूकै जगजगी र चकचकी छ । सानो संसार र मेरो एउटा साथी छकी नायिका नम्रता श्रेष्ठबाट नेपाली फिल्म उद्योगले ठूलो आशा राखेको थियो । तर, सेक्स भिडियो प्रकरणले गर्दा त्यो आश एक निमेषमै खरानी हुन पुग्यो ।
'हिरोइनको अभाव उस्तै छ,' आफ्नो नयाँ फिल्म चाँडै आऊ हैका लागि हिरोइन नपाएको बताउँदै निर्देशक दीपक रायमाझी भन्छन्,
'भनेजस्ती हिरोइन पाएको छैन । कुनै उपाय लागेन भने पुरानै भए पनि दोहोर्‍याउनुपर्ला !' 

0 comments: On Scarcity of Actress In Kaliwood

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.