Latest Update :

Samjhana Budathoki | Dance Queen of Nepali Lok Dohori Songs

 सम्झना बुढाथोकी नेपाली लोकदोहोरी  भिडियोहरुमाझ निकै लोक प्रिय अनुहार हो । ( नयापत्रीकाबाट )
मैले औपचारिक रूपमा कहिल्यै डान्स सिकेकी छैन । सायद भगवान्ले 'तैँले डान्स गरेरै बाँच्नू है, सम्झना,’ भनेर मलाई दिएको एउटा कला हो डान्स । टेलिभिजनमा मैले नाचेको हेर्ने साथीहरू मलाई सोध्छन्, 'डान्समा यत्तिका धेरै 'स्टेप’ तँलाई कसरी आउँछ हँ ?’ म फिस्स हाँस्छु मात्रै । किनकि त्यसको जवाफ मसँग छैन । मैले आफूलाई धेरैपटक सोधेकी छु, 'सम्झना तँलाई कसरी आयो नाच्न ?’

अहिले लाग्छ- टेलिभिजनमा माधुरीले नाच्न थालेपछि सँगसँगै मेरा पनि खुट्टा चल्न थाल्थे । हात चल्मलाउन थाल्थे । आठ वर्षकै उमेरदेखि मेरो मनमा डान्समोह सुरु भयो । जीउ आफैँ यताउता हल्लिन थाल्थे । र, कुनै गीत सुनेँ भने म नाच्न थालिहाल्थेँ । आमाको अघि मज्जाले नाच्न थालेँ । र, अरूका अघि नाच्न पनि कहिल्यै डर लागेन । जीउले मलाई नाच्न साथ दिएको छ ।

...कुनै गीत बजेपछि मेरो जीउ आफैँ हल्लिन्छ । नाच्नका लागि चाहिने सबैभन्दा ठूलो विशेषता नै लचकदार जीउ हो । नाच्न सक्छु भन्ने मलाई आठ वर्षकै उमेरमा लागेको हो । माधुरी दीक्षितको डान्स हेरेर म उनीजस्तै हिरोइन बन्न चाहन्थेँ । बाबालाई सात वर्षकै उमेरमा 'म त गोविन्दासँग बिहे गर्छु,' भन्थेँ ।

म खुब नक्कली स्वभावकी थिएँ । राति पनि कपाल बाँधेर चिटिक्क परेर बस्नुपर्ने । हाम्रो घरमा पसल थियो । एकरात बुबालाई मैलै 'मलाई अहिले नै कपाल बाँध्ने चिम्टी ल्याइदिनुस् न,' भनेँ । बुबाले त्यसवेला मेरो कपाल समातेर उचाल्नुभयो । त्यो म कहिल्यै बिर्सन्नँ ।  Readmore.....


त्यसवेला म ११ वर्षकी थिएँ । पुसको महिना थियो । बाहिर कुहिरो डम्म लागेको थियो । टिभीमा माधुरीको डान्ससँगै म कम्मर मर्काउँदै थिएँ । बुबाले डान्सका गुरु घरमा ल्याउनुभयो । संयोगले भेटिएका ती गुरु मलाई भलाद्मी लागे । पहिलो भेटमै उहाँले 'कत्ति राम्रो नाचेकी तिमीले ?' भनेर मलाई फुरुंग पार्नुभयो ।

मलाई फुरुंग पार्ने गुरुको नाम थियो- जगत् गुरुङ । उहाँकै कारण मैले जानेको नृत्य कलाले अनायासै फुल्ने र फक्रिने मौका पायो । सायद त्यो पहिलो भेटले मेरो भविष्यको सुनिश्चितताको एउटा ढोका खोलेको थियो ।

त्यसपछि, जगत् गुरुसँग मैले 'अनौपचारिक' रूपमा नृत्य सिकेँ । अनौपचारिक भन्नुको अर्थ गुरु कहिलेकाहीँ आएर मलाई यसोउसो गर भन्नुहुन्थ्यो । यो अनौपचारिक सिकाइ महिना दिन मात्रै चल्यो । गुरुले भन्नुभयो, 'तिमीले नृत्य सिक्न जरुरी छैन ।' माघको एकसाँझ उहाँले मलाई मल्ल होटल लैजानुभयोे । 'अब तिमीले यस होटलमा नाच्नुपर्छ,' उहाँले भन्नुभएको थियो । मैले त्यसैवेलादेखि नृत्यमा जागिर खाएँ । तर, किन हो होटलमा नाच्न मलाई भित्रैदेखि लाज लाग्थ्यो । होटल साहुले ग्राहक आउँदा ननचाउने र ग्राहक नआउँदा नचाउने गर्न थाले । मैले यसरी होटलमा नाचेको बुबा-आमालाई मन पर्दैनथ्यो । आमा 'यसरी होटलमा गएर ननाच्,' भन्नुहुन्थ्यो । मेरो मनमा भने नाचको यस्तो भूत सवार थियो कि मलाई कसैले ननाच् भन्नु मेरा लागि विषभन्दा कडा थियो । त्यसवेला नाचेको महिनाको दुई सय रुपैयाँ आउँथ्यो । त्यसपछि मैले डिल्लीबजारको भोजनगृहमा पनि नाच्न थालेँ । सानैमा स्कुल पढ्दै पनि म आफूलाई चाहिने पैसा नाचेरै जुटाउँथेँ । मरो नाचबारे गुरु र बुबाले पनि राम्रो सल्लाह दिनुहुन्थ्यो । अब त नाचप्रति मेरो यति धेरै सामिप्य बढयो कि नाच मेरो नशा नै बन्यो ।

तर, होटलमा नाच्न सजिलो थिएन । त्यसवेला भर्खरै होटलमा नाच भित्रिएको थियो । कत्ति ग्राहक नर्तकीलाई अश्लील व्यवहार गर्थे । हात समात्ने, जहाँ पायो त्यहीँ छुन खोज्थे । तर, म निकै फरक स्वभावकी थिएँ । अलि कडा पनि । मलाई कसैले पनि त्यस्तो व्यवहार गरेनन् । म रिसाइहाल्थेँ । र, सानै पनि थिएँ । मेरो उमेरले पनि उनीहरूलाई त्यस्तो व्यवहार गर्नबाट रोक्थ्यो सायद ।

पढ्नभन्दा नाच्न इच्छा लाग्थ्यो । स्कुलको किताब नपढी ढोका थुनेर नाचेका दिन अहिले पनि झल्झली याद आइरहन्छ । म चाँडै तरुनी भएँजस्तो लाग्थ्यो । नाच्नलाई साडी लगाए झनै सुहाउँथ्यो । होटलमा ननाच्दै हो, एकपटक स्कुलमा अभिभावक दिवसमा 'उडुँ कि गुडुँ म' गीतमा नाच्न बुबालाई कर गरेर रातो लेहेङ्गा किनिमागेँ । त्यसवेला म पहिलो भएको थिएँ । त्यसपछि बुबाले मलाई बोकेर म्वाइँ खानुभएको थियो । त्यसवेला स्कुलमा मार्सल आर्ट पनि सिक्थेँ ।

०५४ असार १२ गते । जगत गुरुले मेरो भेट लय संग्रौलासँग गराइदिनुभयो । लय सरले 'टेलिफिल्ममा अभिनय गछर्यौ ?' भनेर सोध्नुभयो । मलाई त जसरी पनि अवसर बटुल्नु थियो । एकैपटकमा 'हुन्छ' भनेँ । र, केही समयपछि मैले 'चेतना' टेलिफिल्ममा अभिनय गर्न थालेँ । त्यो मैले अभिनय गरेको पहिलो टेलिफिल्म थियो । अब सपनाको सूचीमा नाच्नुसँगै अभिनय पनि थपियो । पहिलो सटमै मेरो संवाद ओके भयो । लय सर पनि खुसी हुनुभयो । चेतनाको दुई वर्ष अभिनयपछि मैले धेरैवटा म्युजिक भिडियो र फिल्ममा अभिनय गर्ने मौका पाएँ । त्यसपछि 'सिउँदोको सिन्दूर' फिल्ममा अभिनय गरेँ । 'नौ डाँडापारि' फिल्ममा 'आइटम डान्स' पनि गरेँ । त्यो मेरो पहिलो आइटम डान्स थियो । त्यसवेला आफू ग्ल्यामरस रूपमा प्रस्तुत हुँदा निकै लाज लागेको थियो । तर, अहिले 'त्यसवेला मैले किन लाज मानेँ हुँला ?' भन्ने लाग्छ ।

मेरो जिन्दगीमा यस्ता केही घटना घटेका छन्, जसले मलाई सधैँ पछयाइरहन्छन् र सोच्न बाध्य पनि बनाउँछन् । आखिर जिन्दगी के हो ? म सधैँ अलमलिन्छु । किन मैले दुःखमात्र बेहोर्नुपर्छ ?

एउटा यति ठूलो घटना घटयो कि त्यसले मेरो जिन्दगीको बाटो नै मोडिदियो ।

०५८ फागुन ६ गते । शुक्रबारको दिन थियो । एकजना साथीसँग मोटरसाइकलमा थिएँ । महाराजगन्जको व्यस्त सडकमा दुर्घटना भयो । मेरो टाउकामा गम्भीर चोट लागेछ । म बाचेँ कि मरेँ महिना दिनसम्म ठम्याउन सकिनँ । म त दिमाग नै नभएजस्तो भएँ । विनाहोस र चेतना म अस्पताल बसेँ । महिना दिन कोमामा गएँ । आमाले त 'अब छोरी मरी' भनेर आसै मारिसक्नुभएको थियो रे ।

तर, एक दिन अचानक मेरो होस खुल्यो ।

अस्पतालको बेडबाट तल झरेर म घिसि्रन थालेछु । 'मायामा नै अल्झेको छ मेरो जिन्दगी' भन्ने गीत सुसेलिरहेको रहेछु । मेरी दिदी खुब रुनुभएको थियो त्यसवेला । 'छोरी मरी' भन्दै आशा मार्नुभएकी आमा झनै रुनुभयो । तर, त्यो रुवाइमा धेरै खुसी मिसिएको थियो ।

त्यस दुर्घटनाबाट म त बाँचेँ । तर, त्यसले मेरो बनिसकेको एउटा 'करिअर' मारिदियो । मेरो जिन्दगीको दुई वर्ष मबाट टाढा भयो । दुर्घटना हुनुअघि म आठवटा फिल्ममा अनुबन्धित थिएँ । त्यस दुर्घटनाले मैले सबै फिल्म गुमाउनुपर्‍यो । त्यसवेला म एकदमै 'डिप्रेस्ड' भएकी थिएँ । मेरो जिन्दगीमा एउटा मोड नै ल्याइदिएको यो दुर्घटनाको सम्झनाले मात्रै पनि म निकैबेर भावुक बन्छु । आमा त अहिले पनि त्यसको सम्झनाले भक्कानिनुहुन्छ । त्यसपछि फेरि ६० सालमा म मोटरसाइकल दुर्घटनामा परेँ । त्यसवेला बाहिरी शरीरमा गम्भीर चोट लागेको थियो । त्यही दुर्घटनाले मेरो दाहिने कुर्कुच्च्ाा दुखिरहन्छ । कत्तिपटक त्यो दुखाइको पीडाले नाच्दानाच्दै थुचुक्कै बसेको छु ।

त्यसलगत्तै म प्रहरी सेवामा प्रवेश गरे । त्यसैवेला एकजना प्रहरीसँग मेरो मायाप्रीति बस्यो । तर, म त्यो मायालाई फेरि फर्केर हेर्न चाहन्न । हामी दुवैजना एक-अर्का भनेपछि भुतुक्कै हुन्थ्यौँ । उहाँ सशस्त्र प्रहरीमा काम गर्नुहुन्थ्यो भने म प्रहरीकै डान्स डिपार्टमा । उहाँले नै एक दिन मलाई 'हेर सम्झना म तिमीलाई धेरै माया गर्छु,' भन्नुभयो । हामी धेरै ठाउँ डेटिङ पनि गयौँ । एक-अर्कालाई धेरैबेर अँगालोमा बाँधेर भविष्यको योजना बुन्थ्याँै । हामीबीच उपहार आदान-प्रदान हुन्थे ।

एक दिन उहाँले मलाई सोध्नुभयो, 'सम्झना तिमी मसँग बिहे गछर्यौ ?' मैले पनि 'हुन्छ' भनेँ । यसरी हाम्रो बिहे पनि भयो । त्यसवेला म २० वर्षकी थिएँ । विवाहपछिका केही वर्ष त राम्रैसँग बिते । म लोकदोहोरीका म्युजिक भिडियोमा व्यस्त हुन थालेँ र प्रहरीमा समय दिन भ्याइनँ । पछि, जागिर नै छाडेँ । बिस्तारै हामी श्रीमान्-श्रीमतीबीच झगडा हुन सुरु भयो । एक-अर्काका अनुहार देख्दै रिस उठ्न थाल्थ्यो । स-साना कुरामा झगडा हुन्थ्यो । विवाहको सात वर्षपछि हामीले अब 'सँगै बस्न नसक्ने' भयौँ भनेर छुट्टे निर्णय गर्‍यौँ । हाम्रो डिभोर्स भयो ।

डिभोर्स भएको त्यो दिन म सम्भिन चाहन्नँ । मेरो जिन्दगीको कालो दिनमा पर्छ त्यो पनि, जसको सम्झना मात्रैले पनि मलाई पीडा दिन्छ । किनभने मेरो जिन्दगीको एपिसोडमा त्यो अर्को ठूलो दुर्घटना थियो ।

म अहिले म्युजिक भिडियोमा यति व्यस्त छु कि मलाई आफ्नो विवाहका बारेमा फेरि सोच्ने फुर्सद छैन । म फेरि विवाह गर्न सक्छु । तर, मलाई बुझ्ने र मेरो 'डान्स' पेसालाई आदर गर्नेखालको मान्छे हुनुपर्छ ।

डिभोर्सपछि मेरो सम्पूर्ण समय म्युजिक भिडियोमा अभिनय गर्दै बितेको छ । त्यसपछिका दिनमा मैले ९० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छु । अहिले साथीहरू जिस्क्याउन थालेका छन्, 'के हो सम्झना तँ त टेलिभिजनका सबै लोकदोहोरी गीतमा नाच्छेस् नि ?' म

मुस्कुराउँछु मात्रै । शंकर बिसीको 'सुपारी चाम्रो' मा मैले गरेको नृत्य निकै चर्चित भयो । अहिले मैले एउटा म्युजिक भिडियोमा अभिनय गरेको १५ देखि १८ हजारसम्म लिने गरेको छु । पहिले नाचेको दुई सय लिने म आफैँलाई फर्केर हेर्दा अचम्म लाग्छ । साताको तीन-चारवटा म्युजिक भिडियोमा अभिनय गर्छु । मैले अभिनय गरेका धेरै लोकदोहोरी भिडियोमा शंकर बिसी पनि सँगै छन् । मलाई मिडिया र बाहिर पनि शंकर बिसीसँग जोडेर हेर्ने गरिन्छ । उहाँ र म कामको सिलसिलामा देशबाहिर गयौँ भने 'हामीले बिहे गर्‍यौँ' भन्नेखालका हल्ला सुनिन्छ । उहाँको र मेरो सम्बन्ध नितान्त चोखो सम्बन्ध हो । जसमा अरूले औँला ठडयाउनु बेकार हो ।

मैले नृत्य गर्न थालेको १६ वर्ष भयो । यस अवधिमा केही पाएको छु भने त्यो नाममात्र हो । सबैले डान्समा मेरो 'एक्सप्रेसन राम्रो छ' भन्छन् । म मोटी भए पनि डान्सचाहिँ गरिरहेकी छु । मैले डान्समा कहिल्यै पनि दुई टेक गर्नुपरेको छैन । कहिलेकाहीँ साथीहरूले तेरो आदर्श डान्सरको हो भन्छन् । मेरो आदर्श डान्सर माधुरी दीक्षित, मिथिला शर्मा, जगत गुरुङ, शंकर बिसीहरू हुन् । म हिपहप, लोक, मोर्डन, शास्त्रीय सबैखाले डान्स गर्छु । ग्ल्यामरस र आइटम डान्स गर्न पनि मलाई मन लाग्छ । खासमा नाच्न धेरै गाह्रो हुन्छ । हेर्न मात्रै सजिलो ।

डिभोर्स भए पनि मलाई कहिल्यै एक्लोपन महसुस भएन । नाच्दा मलाई जति सन्तुष्टि मिल्छ, त्यति अरू कुरामा मिल्दैन । अब फेरि फिल्म खेल्ने इच्छा छ । राजेश हमालसँग फिल्म खेल्ने मन छ ।

पे्रम र सेक्सबारे बोल्न मलाई सधैँ दिक्क लाग्छ । किनभने म प्रेमप्रति उदासीन छु । मेरो भोगाइमा प्रेम स्वार्थ हो । सेक्स जिन्दगीमा नभई नहुने कुरा हो । सेक्सविनाको जीवन अपूरो हुन्छ । अहिले पनि मलाई 'आई लभ यु' भनेर प्रेम-प्रस्ताव राख्ने धेरै छन् । म केही पनि जवाफ दिन्नँ । बिहेको प्रस्ताव गर्ने धेरै छन् । विवाहका लागि मेल र एसएमएस धेरै आउँछन् । मेल र एसएमएस पठाउने सबै ३० देखि ३५ वर्षबीचका छन् ।

आज पनि ठूलो दुर्घटना भएको दिन सम्झदा किन-किन मनै उदास हुन्छ । यो सब डान्स केलाई ? केका निम्ति ? भन्ने प्रश्न पनि मनमा आउँछ । कहिलेकाहीँ म साह्रै निराश हुन्छु । उसवेलाको जीवन अर्कै थियो । ती कुनै दिन मेरो जीवनीमा आधारित कविता वा आत्मकहानी पनि बन्न सक्छन् भन्ने लाग्छ । कहिलेकाहीँ यस्तो पनि लाग्छ- फेरि मेरो जिन्दगीमा वसन्त आएको छ, फेरि हावा चलेको छ । र, कलिला पातबाट सूर्यका किरण छिरेर मेरो जीवनलाई न्यायो पारेको छ ।

0 comments: On Samjhana Budathoki | Dance Queen of Nepali Lok Dohori Songs

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.