Latest Update :

पूर्वयुवराज पारस शाह बैंककमा बस्न थालेपछि पूर्वयुवराज्ञी हिमानी शाहलाई बिर्सेका छन् । पारसले सोमबार ३७ वर्ष लागेकी पत्नी हिमानीलाई फोनसमेत गरेनन् । हिमानीले सोमबार दिनभर पारसको फोन कुर्दै छोराछोरीका साथमा जन्मदिवस मनाइएकी छिन् ।
गत वर्ष पनि हिमानीको जन्मदिवसमा पारस सहभागी थिएनन् । पारस गत वर्ष ११ भदौमा बैंकक गएका थिए । यस वर्ष जन्मदिवसको कार्यक्रममा नआए पनि फोनको प्रतीक्षामा थिइन् हिमानी । तर, उनलाई सोमबार साँझसम्म पनि पारसको फोन नआएको उनीनिकट स्रोतले बतायो । केही महिनादेखि पारस पूर्णरूपमा पारिवारिक सम्पर्कभन्दा बाहिर छन् ।
पूर्वयुवराज्ञी हिमानीले सोमबार बिहान निर्मलनिवास परिसरकै मन्दिरमा पूजाआजा गरेकी थिइन् । स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र शाही नातेदारहरूले भने उनलाई भेटेरै जन्मदिनको शुभकामना दिएका थिए । पतिको फोन कुरेर बसेकी हिमानी जन्मदिनको शुभकामना दिन आएका शुभचिन्तक माझ भने देखिइनन् ।
हिमानीलाई शुभकामना दिन फूलगुच्छासहित निर्मलनिवासमा राजावादी तथा शुभचिन्तक पुगेका थिए । तर, भेट नपाएपछि उनकी स्वकीय सचिव स्मिता सिंहलाई फूलगुच्छा दिएर शुभकामना भनिदिन भन्दै फर्किएका थिए । राजावादीहरूले पशुपति, गुह्येश्वरी र कमलादी गणेश मन्दिरमा गएर हिमानीको सुस्वास्थ्य र दीर्घायुको कामनासहित पूजाआजा गरी प्रसाद पनि लगेर गएका थिए ।

गत वर्ष पनि शुभकामना दिन पुगेका राजावादीसँग हिमानीले भेट गरेकी थिइनन् । दुई वर्षअघिसम्म उनी जन्मदिनको शुभकामना दिन आउने शुभचिन्तकमा माझ उपस्थित हुने गर्थिन् । जन्मदिवसमा पूर्वयुवराज पारस नभएपछि उनी शुभचिन्तकमाझ नदेखिएको उनीनिकट स्रोतले बतायो ।

'जन्मदिनको अवसरमा पूर्वयुवराज्ञी सरकारलाई फूलगुच्छा र मन्दिरमा गई पूजाआजा गरिएको प्रसाद दिन निर्मलनिवास पुगेका थियौँ । दर्शन नपाउने भएपछि स्वकीय सचिवलाई दिएर आयौँ,' हिमानीको जन्मोत्सव मनाउन गठित समितिका संयोजक राधेश्याम थापाले भने, 'दुई वर्ष पहिलेसम्म दर्शन पाउने गथ्र्यौं, तर पोहोर र यो साल पाएनौँ ।'

यसैबीच, आफ्नो जन्मदिनको अवसरमा पूर्वयुवराज्ञी हिमानीले नयाँ बानेश्वरस्थित निसहाय सेवा सदनका करिब ५० जना ज्येष्ठ नागरिक र परमानन्द आश्रम गुह्येश्वरीका ८० जनाभन्दा बढी असहायलाई एक महिनासम्म पुग्ने खाद्य सामग्री सोमबार पठाएकी छिन् । उनको तर्फबाट उपलब्ध गराइएको खाद्य सामग्री निर्मलनिवासका कर्मचारीले पुर्‍याएका थिए ।

स्रोत : नया पत्रिका

0 comments: On

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.