Latest Update :

Nepali Handsome Actor - Aryan Sigdel on Guffgaff


चलचित्र क्षेत्रमा चकलेटी नायकको उपाधि पाएका आर्यन सिग्देल अहिले फुर्सदमा छन्। केही साताअघि प्रदर्शन भएको 'के यो माया हो' का यी नायकले गत वर्ष नै अभिनय गरेको चलचित्र 'मेरो लभस्टोरी' दसैंको अवसर पारेर आज शुक्रबारदेखि नै प्रदर्शनमा आउँदैछ। यसवर्ष उनले जम्मा एउटा चलचित्र 'आई एम सरी' मा मात्र अभिनय गरेका छन्। दसैंपछि एउटा नेपाली तथा एउटा बंगाली चलचित्रमा व्यस्त हुने आर्यनले यसअघि अभिनय गरेका 'किस्मत', 'मेरो एउटा साथी छ', 'कसले चोर्‍यो मेरो मन' व्यावसायिक रूपमा सफल चलचित्र हुन्। ५ फिट ८ इन्च अग्ला यी नायक काठमाडौं थानकोटका स्थायी बासिन्दा हुन्। सरकारी जागिरे बुवाका एक्ला छोरा आर्यन 'रिजर्भ' स्वभावका कलाकारका रूपमा चिनिन्छन्। दसैंको अवसर पारेर साप्ताहिकले आर्यनसँग लामै कुराकानी गरेको थियो।

अचेल केमा व्यस्त हुनुहुन्छ
दसैं लागिसकेको छ, त्यसैले अहिले दसैंको मुड बनाउँदैछु। यसका साथै आज शुक्रबारदेखि मैले अभिनय गरेको चलचित्र 'मेरो लभस्टोरी' को सार्वजनिक प्रदर्शन प्रारम्भ हुँदैछ, त्यसको प्रोमोसनमा पनि व्यस्त छु।

दसैं कत्तिको लागेको छ
अस्ति बुधबारदेखि नै दसैं लागिसक्यो नि ! घटस्थापनाको दिन ममीले थानकोटको घरमा जमरा राखिसक्नुभयो। त्यसकारण मेरो दसैं पनि सुरु भैसक्यो तर वास्तविक दसैंचाहिँ फूलपातीको दिनदेखि मात्र लाग्छ।

तपाईं दसैं कहाँ मनाउनुहुन्छ
म आफ्नै जन्मघर थानकोटमा परिवारका सदस्यहरूसँगै दसैं मनाउँछु।

परिवारमा कति जना सदस्य छन्
काठमाडौंमा त म, बुवा र आमा मात्र छौं। बहिनी-ज्वाइँ विदेशमा छन्। बुवाका पाँच जना दाजुभाइका छोराछोरीमध्ये पनि धेरैजसो विदेशमै छन्।

दसैंको पारिवारिक जमघट कस्तो हुन्छ
पहिले-पहिले हाम्रो घरमा जस्तो रमाइलो जमघट अरूतिर हुँदैन होला जस्तो लाग्थ्यो। परिवारका सबै सदस्य टीका लगाउन बस्दा मेरो पालो तीन घण्टापछि आउँथ्यो। अहिले त्यस्त्ाो अवस्था रहेन। धेरै आफन्त विदेशमै सेटल भएकाले दसैंमा घर नै शून्य भएजस्तो लाग्छ।

यसपटकको दसैं मनाउने तयारी कस्तो छ
वास्तवमा दसैंमा रमाइलो गर्ने भनेको बाल्यावस्थामै रहेछ। पहिले कुनै पनि जिम्मेवारी नहुने, माग गरे मात्र पुग्ने, बुवा-आमाले जसरी पनि पुर्‍याइदिने, तर अहिले ठूलो भएपछि केटाकेटी बेलाको जस्तो दसैं चाहेर पनि मनाउन पाइँदैन।

अहिले कसरी मनाउनुहुन्छ त
घरपरिवारका सदस्यहरूसँग जमघट गर्‍यो। उहाँहरूसँगै बसेर खानपिन गर्‍यो। अलि-अलि तास खेल्यो। अँ...टीकाको दिन पिङ खेल्नचाहिँ अहिले पनि बिर्सन्न। टीकाको दिन एकछिनलाई भए पनि यो धर्ती छाड्नुपर्छ भन्ने मान्यताका कारण पनि पिङ खेल्छु।

तपाईं त थानकोटको घरमा बस्नुहुन्न होला, होइन
चलचित्रमा व्यस्त हुन थालेपछि थानकोटको घरमा बसेर काम गर्न गाह्रो भयो। त्यसैले काठमाडौंमै फ्ल्याट लिएर बस्न थालेको हुँ। म अहिले लाजिम्पाटस्थित फ्ल्याटमा एक्लै बस्दै आएको छु।

एक्लै बस्नुहुन्छ
विवाह भएको छैन, एक्लै नबसे कोसँग बस्नु त ?

विवाह गर्ने बेला भएन र
-हाँसो) अहिले नै विवाह गर्‍यो भने त मेरो करियर नै चौपट भैहाल्छ नि !

विवाहित नायकहरू पनि प्रशस्तै छन् नि
त्यो त उहाँहरूको महानता हो, तर म अहिले नै विवाह गरेर 'आर्यन सिग्देलको पनि डिभोर्स भयो' भन्ने समाचारको पात्र बन्न चाहन्नँ।

किन प्राय: नायकहरूकै डिभोर्स भैरहन्छ
यो त विवाहित नायकहरूसँगै सोध्नुपर्ने प्रश्न हो। मेरो अनुभवमा चलचित्रमा व्यस्त भैरहेको एउटा कलाकारले विवाह गर्दा उसले आफ्नी श्रीमतीलाई प्रशस्त समय दिन सक्दैन। दिन-रात नभनी सुटिङमा व्यस्त हुनुपर्दा परिवारलाई दिने समय नै हुँदैन। कहिलेकाहीँ त महिनौं घरबाहिर रहनुपर्ने अवस्था आउँछ। विवाह गरेर मात्र भएन, छोराछोरी पनि जन्मन्छन्। श्रीमतीलाई त समय दिन गाह्रो परिरहेका बेला छोराछोरीका लागि थप समय कसरी जुटाउनु ? यी सबै कुरा सोच्दा अहिले विवाह गर्नु ठीक छैन भन्ने निर्णयमा पुगेको हुँ।

तर माया गर्ने कोही होस् जस्तो लाग्दैन
त्यो त हरेक मानिसलाई लाग्ने कुरा हो। मलाई पनि लाग्छ तर मैले अझै धेरै काम गरेर अघि बढ्नु छ। यस्तो बेला भावनामा बगेर कुनै पनि निर्णय गर्नु उचित हुन्छ जस्तो लाग्दैन।

विवाह गरेपछि कम्तीमा घरमा भात त पकाउनुपर्दैन नि
मलाई आफ्नो काम आफैं गर्न रमाइलो लाग्छ। बेलुका फ्ल्याटमा पुगेपछि टेलिभिजन हेर्दै आफैं खाना पकाउँछु। मलाई किचेनमा समय बिताउन साह्रै पि्रय लाग्छ। म आफ्नो लुगा पनि आफैं धुन्छु।

भनेपछि तपाईंकी श्रीमतीले सुख पाउने भइन्
-हाँसो) त्यो त हो। मसँग विवाह गर्ने युवती जीवनभरि सुखी हुन्छिन् जस्तो लाग्छ।

तपाईंको अफेयरका कुरा बारम्बार चर्चामा आइरहन्छन् नि
अफेयर ! मेरो अहिलेसम्म कसैसँग अफेयर भएकै छैन। हो, एकताका म एउटी युवतीसँग प्रेममा थिएँ तर केही कुरामा असहमति भएपछि हामीले अलग बाटो रोज्यौं। अहिले उनी विवाह गरेर आफ्नै जीवन बाँचिरहेकी छिन्, म आफ्नै संसारमा खुसी छु।

तर पनि तपाईंको नाम विभिन्न युवतीसँग जोडिइरहन्छ नि
त्यो त जोड्नेहरूलाई नै थाहा होला, तर म तन्नेरी छु, अलि-अलि हेन्डसम पनि छु। पार्टीहरूमा कुनै युवती मसँग नजिकिन खोजिन् भन्दैमा म उनीसँग अफेयरमा छु भन्न मिल्दैन।

लक्का जवान हुनुहुन्छ, एक्लै बस्नुहुन्छ। यौन चाहना कसरी पूरा गर्नुहुन्छ
यो त नितान्त व्यक्तिगत कुरा भयो। सोधिहाल्नुभयो- म कुनै न कुनै तरिकाले आफ्नो आवश्यकता पूरा गरिरहेको छु।

तपाईं प्राय: नकारात्मक कुराका कारण विवादमा आइरहनुहुन्छ नि
यसको दोषचाहिँ म सञ्चारकर्मी साथीलाई दिन्छु। मलाई सम्झना भएसम्म नेपाली सञ्चारमाध्यममा मेरा बारेमा १० प्रतिशत सकारात्मक समाचार पनि लेखिएको छैन। प्राय: मलाई नकारात्मक चरित्रका रूपमा प्रस्तुत गरिन्छ। कम्तीमा समाचार लेख्नुअघि एकपटक मेरो प्रतिक्रिया लिने प्रयास गरिदिए आमदर्शकले मेरो कुरा पनि सुन्न पाउँथे। अहिले त अधिकांश दर्शकले मेरा बारेमा एकतर्फी कुरा मात्र सुन्न पाएका छन्।

तर तपाईं विवादमा त आइरहनुहुन्छ नि होइन
म कहिल्यै विवादमा आउँदिनँ भन्दिनँ, तर के कुराले विवाद भएको हो भन्नेतर्फ कोही पनि जाँदैनन्। धेरै अवस्थामा मेरो गल्ति नहुँदा-नहुँदै पनि मलाई दोष दिइन्छ। भर्खरै एउटा चलचित्रबाट मलाई निकालिएको खबर सार्वजनिक भएको थियो। वास्तवमा उक्त चलचित्र मैले नै छाडिदिएको हो। साइनिङ एमाउन्ट स्वरूप लिएको ३ लाख नगद पनि मैले फिर्ता गरिदिएको हो, तर सञ्चारमाध्यममा मलाई निर्माताले निकालिदिएको खबर आयो।

वास्तविकता के थियो त
मलाई 'ब्ल्याकमेल' चलचित्रका निर्माताले अभिनय गर्ने प्रस्ताव राख्नुभयो। मैले निर्वाह गर्ने भूमिका नकारात्मक भएकाले म उत्साही पनि थिएँ किनभने म एउटा नेगेटिभ क्यारेक्टर गर्न चाहिरहेको छु। अभिनय गर्ने पक्का भएपछि मैले स्त्रिmप्ट हेरेँ। स्त्रिmप्ट हेर्दा त मेरो भूमिका फेद न टुप्पोको जस्तो लाग्यो। मैले यो स्त्रिmप्टमा केही सुधार गरौं, राम्रो बनाऊ भन्ने प्रस्ताव राखें, उहाँहरूले मान्नु भएन। अन्त्यमा मैले 'त्यसो भए तपाईंहरूको चलचित्रमा म काम गर्न सक्दिनँ' भनेर छाडिदिएँ।

नेपाली नायिकाहरूसँग पनि तपाईंको सम्बन्ध राम्रो मानिँदैन नि
यसमा पनि मेरो आफ्नै तर्क छ। उहाँहरूसँग मेरो सम्बन्ध नराम्रो भएको होइन, मैले नै केही निश्चित दूरी राख्न चाहेकाले यस्तो अवस्था सिर्जना भएको हो। म प्राय: नायिकासँग चलचित्रको छायांकनस्थलसम्म मात्र सीमित हुन्छु। चलचित्रको काम सकिएपछि उहाँहरूको सम्पर्कमा रहन मलाई उचित लाग्दैन। चलचित्रको छायांकन सकिएपछि उहाँहरूलाई भेटिरहनुको कुनै औचित्य हुँदैन। भेटिरहन थाल्यो भने फेरी अर्कै अर्थ लाग्न थाल्छ। यसबाहेक उहाँहरूको आफ्नै व्यक्तिगत जीवन हुन्छ, मेरो आफ्नै हुन्छ।

तपाईं त उनीहरूसँग भेट्दा पनि बोल्नुहुन्न भन्छन् नि
त्यस्तो त होइन। भेट भएको बेला सामान्य हेल्लो-हाई त भैहाल्छ नि, तर नायिकाहरूसँग क्लोज फ्रेन्डसिपचाहिँ गर्न चाहन्नँ।

तपाईंलाई अधिकांश चलचित्रकर्मी घमन्डी भएको आरोप लगाउँछन्
वास्तवमा म एकान्तप्रेमी मानिस हुँ। म सानैदेखि यस्तै थिएँ। म प्राय: कसैसँग पनि खुल्न सक्दिनँ। घुलमिल हुन सक्दिनँ। मेरा यिनै कमजोरीका कारण मानिसहरूले मलाई घमन्डी भनेका हुन सक्छन्। वास्तवमा म घमन्डी छैन।

प्रसँग बदलौं, तपाईंको बाल्यकाल कस्तो रह्यो
म थानकोटमा जन्मिएँ, त्यहीँ हुर्किएँ तर पत्याउनुहुन्न होला, मैले चलचित्रमा अभिनय गर्न थालेपछि मात्र मलाई छिमेकीहरूले नजिकबाट चिनेका हुन्। किनभने म स्कुल र घरबाहेक बाहिर कहीँ पनि जान्नथेँ। बिहान स्कुल गयो, ४ बजे घर आयो। घरमा मेरो आफ्नै कोठा थियो। स्कुलबाट आएपछि म त्यही कोठामै सीमित हुन्थें। ममीले खाना खान बोलाएपछि भान्सामा जान्थें, अनि फेरि कोठामै आउँथे।

त्यसो भए घरमा त खुबै पढ्नुहुन्थ्यो होला
कहाँ पढ्नु...अफिसबाट बुवा घर नआउन्जेल टेलिभिजनमै झुम्मिन्थें। कोठामा ठूलो ऐना थियो, त्यही ऐना हेर्दै नाच्थें, विभिन्न कलाकारले गरेको अभिनयको नक्कल गर्थें। बालकार्यक्रममा सहभागी भएका बालबालिकाहरूले गरेको अभिनय नक्कल गर्दै म भएको भए त्योभन्दा राम्रो गर्थें भन्ने सोच्थें।

भनेपछि सानैदेखि कलाकार बन्ने रहर थियो
त्यति बेला त मैले कलाकार बन्छु भन्ने सोचेकै थिइन, तर अहिले सम्झँदा त्यस्तै लाग्छ। सायद ममा सानैदेखि कलाकारिताको भावना रहेछ। हाम्रो परिवारमा कोही पनि कला क्षेत्रमा नभएकाले मैले सानो छँदा कलाकार बन्ने लक्ष्य नै लिएको थिइनँ, तर एक्लै नाच्ने, अभिनय गर्ने बानी पनि छुटाउन सकेको थिइनँ।

कहिलेदेखि साँच्चिकै कलाकार बन्ने रहर जाग्यो ?
एसएलसी दिएपछि चाहिँ अब कलाकार नै बन्नुपर्छ भन्ने लाग्यो। २०५६ सालतिरको कुरा होला, मोहन निरौलाको परिवर्तन नेपालमा आबद्ध भएर नाटकहरूमा अभिनय गर्न थालें। त्यति बेलै नृत्य पनि सिकें। सिक्ने क्रममै थिएँ, एउटा टेलिश्रृंखलाबाट अभिनयको प्रस्ताव आयो।

'जंगबहादुर' को कथामा बन्ने श्रृंखलामा अभिनय पनि गरें तर त्यो श्रृंखला प्रसारणमै आएन।

तपाईंको अभिनय कहिलेदेखि दर्शकले हेर्न पाए त
शम्भु प्रधानको निर्देश्ानमा बनेको 'गंगा जमुना' मार्फत म पहिलो पटक टेलिभिजनको पर्दामार्फत दर्शकमाझ पुगेँ। त्यसपछि कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको टेलिश्रृंखला 'हाउसफूल' मा अभिनय गरें। ५२ भागको त्यही श्रृंखला मेरो अभिनय करियरको टर्निङ प्वाइन्ट सावित भयो। त्यसपछि मैले एक दर्जनजति टेलिश्रृंखला तथा केही म्युजिक भिडियोमा काम गरें। त्यही क्रममा टेलिभिजनबाट प्रसारण भएको सुपर एक्टिङ कम्पिटिसन कार्यक्रमको उद्घोषण पनि गरें।

ँहाउसफुल’ श्रृंखला कसरी टर्निङ प्वाइन्ट भयो त
अहिलेका व्यस्त निर्देश्ाक सुदर्शन थापाले निर्देश्ान गरेको 'हाउसफुल' मा मेरो अभिनय देखेर निर्माता छवि ओझाले मलाई चलचित्र 'हिम्मत' का लागि प्रस्ताव गर्नुभयो तर केही कारणले मैले उक्त चलचित्रमा अभिनय गर्न पाइन। पछि उहाँकै अर्को चलचित्र 'किस्मत' मार्फत मैले नायकका रूपमा डेब्यू गर्ने अबसर पाएँ। 'हाउसफुल' मा काम नगरेको भए मैले किस्मतको नायक बन्ने मौका पाउँथे कि पाउँदिन थिएँ, यसै भन्न सकिँदैन।

ँकिस्मत’ पछि पुन: सानो पर्दामा फर्किनुभएन
पहिलो चलचित्रपछि पनि मैले दुईवटा श्रृंखलामा काम गरें, तर 'किस्मत' प्रदर्शन भैसकेपछि चाहिँ मैले सानो पर्दालाई समय नै दिन नसक्ने गरी व्यस्त भएँ।

हालसम्म अभिनय गरेका चलचित्रमध्ये कुन चलचित्रको आफ्नो भूमिकाबाट सन्तुष्ट हुनुहुन्छ
मैले अभिनय गरेका 'किस्मत', 'मेरो एउटा साथी छ', 'कसले चोर्‍यो मेरो मन', 'के यो माया हो' प्रदर्शन भैसकेका छन्। 'मेरो लभस्टोरी' आजदेखि प्रदर्शन हुँदैछ। त्यसपछि 'आई एम सरी' प्रदर्शन हुनेछ। यी सबै चलचित्रमध्ये 'मेरो एउटा साथी छ' को जयशमशेर जबराको भूमिकाबाट म बढी नै सन्तुष्ट छु।

आगामी दिनमा कस्ता चलचित्रमा अभिनय गर्दै हुनुहुन्छ ?
भर्खरै एउटा बंगाली चलचित्रका लागि सम्झौता भएको छ। त्यसबाहेक 'काठमाडौं नाइट' शीर्षकको चलचित्रमा पनि काम गर्दैछु।

चलचित्रमा अभिनय गर्न तयार हुनुअघि के-के कुरामा ध्यान दिनुहुन्छ
सबैभन्दा पहिलो कुरा त उक्त चलचित्र कसले बनाउँदैछ, निर्देश्ाक को हो, स्त्रिmप्ट कस्तो छ भन्ने कुरामा ध्यान दिन्छु। त्यसबाहेक चलचित्रको स्त्रिmप्टदेखि चलचित्रको पोस्टरसम्मको काम कसरी गर्ने तयारी गरेका छन् त्यो पनि विचार गर्छु। सबै कुरा चित्त बुझ्दो लागेपछि मात्र म अभिनय गर्न तयार हुन्छु।

तपाईंलाई सबैभन्दा बढी पारिश्रमिक लिने नायक पनि भनिन्छ नि
मलाई अरूले कति लिन्छन् थाहा भएन तर मैले लिने पारिश्रमिक अन्य नायकको भन्दा कम छैन भन्ने कुरामा चाहिँ ढुक्क छु। अघिल्लो महिना मैले छाडेको चलचित्रमै मैले ८ लाख रुपैयाँ लिने पक्का थियो। अहिले बंगाली चलचित्रका लागि योभन्दा बढी पारिश्रमिकमा अनुबन्ध भएको छु।

पुन: प्रसँग बदलौं, तपाईं टन्न पिउने अनि पिएर मात्तिने कलाकार हो भनिन्छ नि
-हाँसो) अहिलेको जमानामा नपिउने कलाकार तपाईंले बत्ति बालेर खोजे पनि पाउनु हुन्न। हो म पनि पिउँछु तर तपाईंले भने जस्तो पिएर जहिले पनि मात्तिने मानिसचाहिँ होइन।

प्राय: कुन ब्रान्ड पिउनुहुन्छ
म अहिले ब्ल्याक लेबल मात्र पिउँछु।

कति वर्षको उमेरदेखि पिउनु थाल्नुभएको
योचाहिँ नभन्दा हुन्न ! -मिलाएर भन्नुहोस् न भनेर आग्रह गरेपछि) अँ...अभिनय गर्न थालेदेखि नै पिउन थालेको हुँ।

पहिले कुन ब्रान्ड पिउनुहुन्थ्यो
पहिले ब्रान्ड हेर्ने चलन नै थिएन, साथीभाइसँग जमघटमा बस्दा जे उपलब्ध छ त्यही पिउँथें, तर अहिलेचाहिँ ब्ल्याक लेबलभन्दा तलको पिउने गरेको छैन।

भन्नाले अहिले टन्न पैसा कमाउनुभयो
-हाँसो) कमाएँ भन्नु कि कमाइनँ भन्नु, मैले एक रुपैयाँ पनि बचाउन सकेको छैन।

केमा खर्च हुन्छ तपाईंको पैसा
प्राय: साथीभाइसँगको जमघटमै बढी खर्च हुन्छ। मोबाइलमा पनि उत्तिकै खर्च भैरहन्छ। कार चढ्छु, त्यसमा पनि खर्च हुन्छ।

खानपिनमा कत्तिको सौखिन हुनुहुन्छ
म घरमा प्राय: उमालेका खानेकुरा मात्र खान्छु। बाहिरचाहिँ मलाई नेवारी खाना असाध्यै मीठो लाग्छ।

कत्तिको फेसनेबल हुनुहुन्छ
फेसनमा चाहिँ खासै कन्सस छैन। फेसनमा मेरो कुनै ब्रान्ड पनि छैन। प्राय: जिन्स र सर्ट लगाउन मन पराउँछु।

तपाईंलाई नाइट लाइफ खुबै मनपर्छ भन्छन् नि
हो, मलाई झिलिमिली बत्तीको उज्यालो खुबै मनपर्छ। चलचित्रमा व्यस्त छैन भने रात परेपछि म एक चक्कर लगाएर त्यो रमझमको आनन्द उठाउन मन पराउँछु। म प्राय: हरेक साँझ दरबारमार्ग पैदलै एक चक्कर लगाउँछु। पहिले-पहिले न्युरोडको नाइट मार्केट घुम्थें। अचेल त्यता बढी नै भीडभाड हुन्छ, त्यसैले म अहिले साँझमा दरबारमार्गतिरै हुन्छु।

तपाईं मोबाइल सेट र नम्बर परिवर्तन गरिरहनुहुन्छ नि
मोबाइल सेट हराइरहने भएकाले परिवर्तन भैरहेको हो। मोबाइल नम्बर परिवर्तन गर्नुचाहिँ बाध्यता नै भएको छ। एउटा नम्बर छ महिनाभन्दा बढी राख्यो भने राति मजाले सुत्न पनि पाइँदैन।

भन्नाले फ्यानहरूले रातभरि फोन गर्छन्
त्यसै भन्नुपर्‍यो, नम्बर पुरानो हुँदै गएपछि चाहिने-नचाहिने दुवै प्रकारका फोनले असाध्यै दु:ख दिन्छन्, त्यसैले म नम्बर परिवर्तन गरिरहन्छु।

अहिले युवती प्रशंसकहरू बढी भएको नायक पनि आर्यन सिग्देल नै हो नि, होइन
त्यस्तो होइन। मेरा फ्यानहरू युवती मात्र होइन युवक पनि छन्। प्राय: टिनएजरहरू मन पराउँछन्।

टिनएजरमाझ कसरी लोकपि्रय हुनुभयो
नेपाली चलचित्रमा प्राय: द्वन्द्व मात्र चलिरहेका बेला मैले लभ स्टोरीको शैली विस्तार गरिदिएँ। रोमान्टिक चलचित्रका दर्शकले आर्यन सिग्देलका रूपमा एउटा चकलेटी नायक पाएकाले पनि म टिनएजरको 'फेबरेट हिरो' बन्न सफल भए जस्तो लाग्छ।

कुनचाहिँ नायिकासँग आफ्नो जोडी मिलेजस्तो लाग्छ
अहिलेसम्म काम गरेका नायिकाहरूमध्ये मलाई नम्रता श्रेष्ठ तथा रेखा थापासँगको जोडी सुहाएको जस्तो लाग्छ। रेखासँग दोहोरिसकेकाले दर्शकहरूले अहिले मलाई पुन: एकपटक नम्रता श्रेष्ठसँग काम गरेको हेर्न चाहेका छन्।

तपाईंलाई कामुक लाग्ने नेपाली नायिका
झरना बज्राचार्य।

कुन कुरामा रिस उठ्छ ?
नचाहिँदो कुरा गरेको सुनें भने रिस उठ्छ। रिस उठेपछि म आफैं भुन्भुनाउँछु तर केही क्षणमै आफैं रिस शान्त हुन्छ। 
Source : Saptahik Weekly

0 comments: On Nepali Handsome Actor - Aryan Sigdel on Guffgaff

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.