पहुँचको प्रयोग हुन दिइने छैन - उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ
२०३६ सालको विद्यार्थी आन्दोलनदेखि सक्रिय राजनीतिमा लाग्नुभएका नारायणकाजी श्रेष्ठ 'प्रकाश' हाल एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष हुनुहुन्छ । आˆनो राजनीतिक जीवनको अधिकांश समय भूमिगत रहेर बिताउनुभएका प्रकाशले राजतन्त्र समाप्त गर्ने प्रस्थानबिन्दु बनेको तत्कालीन नेकपा -माओवादी) र सात राजनीतिक दलबीचको १२ बुँदे सहमति गराउन प्रमुख भूमिका खेल्नुभएको थियो । उहाँको गृह जिल्ला गोरखा हो । नेकपा -चौम), मोटो मसाल, सर्वहारा श्रमिक सङ्गठनलगायतका पार्टी एकीकृत भएर २०४७ सालमा नेकपा -एकताकेन्द्र) गठन भएपछि उहाँ पोलिट्ब्युरो सदस्य हुनुभयो । ०५१ सालमा तत्काल दीर्घकालीन जनयुद्धमा जाने कि सहरी जनविद्रोह विकसित गर्ने भन्ने विषयमा मत बाझिएपछि पार्टी विभाजन भयो । निर्मल लामा, प्रकाश, गिरिराजमणि पोख्रेल, अमिक शेरचनलगायतका नेताहरू एकताकेन्द्रमै रहनुभयो भने प्रचण्ड, किरण, बाबुराम, बादललगायतका नेताहरूले नेकपा -माओवादी) गठन गरेर जनयुद्ध सुरु गर्नुभयो । पार्टी फुटको केही समयपछि उहाँ एकताकेन्द्रको महासचिव हुनुभयो । ०५४ सालमा उहाँको पार्टीले दीर्घकालीन जनयुद्धमा सहरी जनविद्रोहको संयोजनलाई नेपाली क्रान्तिको कार्यदिशा बनायो । यही नीतिसँग मेल खाने नीति माओवादीले ०५७ सालमा पास गरेपछि दुई सङ्गठनबीच बढेको निकटतापछि ०६५ सालमा एकता भएर एकीकृत नेकपा -माओवादी) गठन भएको हो । अहिले माओवादीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको नेतृत्व गर्दै उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका प्रकाशले गोरखापत्र दैनिकका शिवकुमार भट्टराई र राजेश चाम्लिङ राईसँग कुरा गर्दै ऐन, कानुन, नियम र पद्धतिलाई मिचेर सोर्सफोर्स र भनसुनको आधारमा गरिने कामलाई पूरै निषेध गरिने बताउनुभएको छ ।
निक्कै विवादका बीचमा उपप्रधान तथा गृहमन्त्री हुनुभयो, गृहमन्त्रालयको काम कसरी अगाडि बढाइराख्नु भएको छ ?
पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई महिलाहरूको हकमा समानुपातिक र समावेशी बनाउने सन्दर्भमा मैले सरकारको नेतृत्व लिने स्थितिमा आइपुगेको छु । अहिले देशको सङ्क्रमणकालीन स्थितिमा हाम्रो मुख्य काम भनेको शान्ति र संविधानलाई निष्कर्षमा पुर्याउनु रहेको छ ।
गृह मन्त्रालयको हकमा प्रारम्भिक रूपमा मैले तीन चारवटा निर्देशन दिएको छु । एक, अहिलेको सङ्क्रमणकालीन स्थितिको शान्ति सुरक्षालाई कायम राख्न हत्या, लुटपाट, अपहरण, गुण्डागर्दी, बलात्कार जस्ता घटनालाई पूरै नियन्त्रण गर्न प्रभावकारी कदम चाल्ने । दोस्रो, राष्ट्रको सुरक्षा र जनताको सुरक्षालाई मूल मुद्दा बनाउँदै सरल, सुलभ र जनमुखी प्रशासनलाई अगाडि बढाउने, भ्रष्टाचारप्रति पूरै असहिष्णु हुने, भ्रष्टाचारमा संलग्न नहुने र भ्रष्टाचारीमाथि कारबाही गर्ने । चौथो, कर्मचारीहरूले शासक हुने कुरा नगर्ने, नियमित हुनुपर्ने कामलाई कुराउने काम पटक्कै नगर्ने, परिवर्तनका उपलब्धिलाई प्रयोग गर्दै मौलिक अधिकारको प्रयोग गर्दा मानव अधिकारको सम्मान गर्ने ।
बल प्रयोग गर्नुपर्ने अवस्था आएमा न्यूनतम बल प्रयोग गर्ने मान्यतालाई अख्तियार गर्ने, देशमा शान्तिसुरक्षा कायम गर्ने काममा विशेषतः अपराधी, अवैध धन्धा गर्ने र गुण्डागर्दी गर्नेहरूमाथि प्रभावकारी कदम अगाडि बढाउने मान्यता अन्तर्गत हामी अगाडि बढिरहेका छौँ ।
यी सबै कामलाई व्यवहारमा तत्काल कार्यन्वयन गर्नका लागि पुरानै संयन्त्रबाट कत्तिको सम्भव छ ?
हामीले भनेको सबै काम गर्न संविधान निर्माण गरेर नयाँ सरकार बनेपछि जुन ढङ्गले सकिन्छ त्यो त अहिले सकिँदैन । यसको सीमाप्रति हामी सचेत हुनैपर्छ । तैपनि गृह मन्त्रालयको अहिलेको टिम, खासगरी माथिल्लो टिम यो 'स्पिरिट'मा सहमत छ । गृह मन्त्रालयका अधिकारीसँग सामान्य छलफल गर्दा त्यस दिशामा कदम अगाडि बढाउन सकिन्छ भन्ने मलाई विश्वास छ ।
गृह मन्त्रालयलाई आˆनो कार्यकर्ता र अन्य पक्षलाई पनि सहुलियत र सुविधा प्रदान गर्न सक्ने शक्तिशाली मन्त्रालयको रूपमा लिइन्छ, यस अगाडि थुप्रै मन्त्रीहरू यसैबारेमा विवादमा पनि पर्नुभएको छ, यहाँ ती मन्त्रीहरूभन्दा पृथक् हुन सक्नुहुन्छ भनेर कसरी विश्वास गर्ने ?
मैले मन्त्रालय सम्हाल्दा पहिलो निर्देशनमा नै यसबारेमा भनेको छु । मध्यपश्चिमको राष्ट्रिय सुरक्षा गोष्ठीमा पनि स्पष्ट पारेको छु कि ऐन,कानुन, नियम र पद्धतिलाई मिचेर सोर्सफोर्स र भनसुनको आधारमा गरिने कामलाई पूरै निषेध गरिनुपर्छ । त्यसो गर्दा दबाबलाई पनि झेल्न सक्नुपर्छ । हप्तावारी असुल्ने, तस्करी वा अवैध धन्धा गर्ने, तस्करसँग मिलेर वा आफैँ संलग्न भएर काम गर्ने तत्वलाई कडाइका साथ नियन्त्रण गरिनेछ । स्वयं प्रशासन र सुरक्षा संयन्त्रले नै गुण्डालाई संरक्षण गरिरहेको छ भने त्यसलाई निस्तेज पारिनेछ । राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई तत्काल नसिहत र दण्डित गर्ने काम गरिनेछ । त्यसकारण ऐन, कानुन विपरीत राजनीतिक हस्तक्षेप आउँछ भने त्यसलाई दृढतापूर्वक अस्वीकार गर्न निर्देशन जारी गरिएको छ । यी कुरालाई ध्यानमा राखेर काम गर्दा हाम्रो सार्वभौमिकता भौगोलिक अखण्डतालाई पनि ख्याल गर्नुपर्ने हुन्छ । ऐन, कानुनलाई मिचेर काम गर्ने लामो परम्परा छ त्यसलाई पूर्ण निरुत्साहित गरिनेछ ।
तपाइर्ं संविधानसभाको सबभन्दा ठूलो दलको जिम्मेवार नेता पनि हुनुहुन्छ, तीन महिना थपिएको अवधिमा संविधान निर्माणको काम कहाँ पुग्यो ?
हामीले अपेक्षा गरेअनुसार काम त भएको छैन । तैपनि सकारात्मक ढङ्गले नै काम अगाडि बढेको छ । अहिलेको स्थिति हेर्दा पहिलो मस्यौदामा सबै विषयमा सहमति हुँदैन कि जस्तो देखिएको छ । त्यसैले पहिलो मस्यौदा भदौ १४ भित्र जारी गरियो भने मतभेदसहित जानुपर्ने स्थिति छ । तर पनि यसलाई हामीले गम्भीर भएर छलफल गरिरहेका छौँ ।
संविधान निर्माणमा सबभन्दा विवादित देखिएको राज्य पुनःसंरचनाका लागि सङ्घीयताको कुरालाई थाती राखेर संविधान जारी गर्नेबारे तीन ठूला दलबीच करिब करिब सहमति भइसकेको भन्ने कुरा प्रधानमन्त्री कार्यालयबाटै सार्वजनिक भएको छ, के त्यो सम्भव छ ?
हामीले त्यसरी सोचेकै छैनौँ । सोच्न पनि हामी सक्दैनौँ । बरु पहिलो मस्यौदा जारी गर्दा त्यसमा सहमति हुनसकेन भने बहुमतको कुरालाई आधिकारिक रूपमा र अरू भिन्नमत पनि जनतामा लगेर छलफल गर्न सक्ने कुरा हुनसक्छ । तर राज्यको पुनःसंरचना र सङ्घीयताको मुद्दालाई छाडेर समग्र संविधान जारी गर्ने कुरा हुनै सक्दैन ।
भदौ १४ गतेभित्र संविधानको मस्यौदा जारी गर्ने कुरा कत्तिको सम्भव छ ?
यसबारे ठ्याक्कै भन्न सक्ने स्थिति रहेन । समय एकदम कम छ । तर पनि प्रगति भएको विषय जनतालाई भन्ने वा भिन्न मतसहित मस्यौदा लैजान सक्ने, स्थिति के बन्छ त्यो बारेमा छलफल गर्दैछौँ ।
प्रधानमन्त्रीले त साउन २८ गतेसम्म शान्तिप्रक्रियाबारे विश्वासिलो आधार बनाएन भने राजिनामा दिन्छु भन्नुभएको छ, यस विषयमा के भइरहेको छ ?
भदौ १४ गतेसम्म संविधानको मस्यौदा जारी गर्ने हाम्रो निर्धारित लक्ष्य हुँदा हुँदै प्रधानमन्त्रीले किन यस्तो कुरा गर्नुभयो, मलाई पनि थाहा छैन । शान्तिप्रक्रिया टुङ्गो लगाउने कुरा माओवादीको मात्र जिम्मेवारीको कुरा होइन । हामीले मात्र भनेर हुनेभए त यस अगाडि नै प्रस्ताव ल्याइसकेका छौँ त्यसैलाई खुरुखुरु माने भइहाल्यो नि किन अरूतिर अलमल गरिरहने । त्यसैले यो माओवादीको मात्र जिम्मेवारीको कुरा होइन । यसबारे प्रधानमन्त्रीसँग अहिले नै कुरा भएको छैन ।
प्रसङ्ग बदलौँ, अब एकीकृत नेकपा -माओवादी) भित्रको अन्तरसङ्घर्ष टुङ्गो लागेको हो ?
एउटा कम्युनिस्ट पार्टीभित्र अन्तरसङ्घर्ष टुङ्गियो भन्न त मिल्दै मिल्दैन । किनकि अन्तरसङ्घर्ष हाम्रो पार्टी जीवनको चालक शक्ति हो । यसबीचमा हाम्रो पार्टीभित्र भएको वैचारिक र राजनीतिक छलफलबाट पार्टीलाई आˆनो लाइनहरू निर्धारण गर्नमा सहयोगी भूमिका खेलेको महसुस गरेका छौँ । तर पनि अन्तरसङ्घर्षले केही सीमा नाघ्यो । अनुशानसहीनता, अराजकता, गुटबन्दीका प्रक्रिया अलिकता अगाडि बढेर गए । त्यसले गर्दा पार्टीलाई नोक्सान पनि पुर्यायो । यसले पार्टीका शुभचिन्तक र पार्टी कार्यकर्ताहरू मात्र होइन आम जनता र अन्य पार्टीमा पनि माओवादीभित्र केही विग्रह उत्पन्न भयो भने समग्र शान्तिप्रक्रिया र संविधान निर्माणलाई नै असर पार्छ भन्ने चिन्ता उत्पन्न हुने स्थिति बन्यो । अहिले अन्तरसङ्घर्ष उचित ढङ्गले व्यवस्थापन गरेका छौँ । रूपान्तरणसहित एकता र एकताबद्ध पार्टीद्वारा तत्कालीन राजनीतिक कार्यभारलाई पूरा गर्ने दृढता अहिलेको हाम्रो निष्कर्ष हो । त्यस अर्थमा यो सकारात्मक भएको छ । यो नयाँ ढङ्गको पार्टी निर्माणको प्रस्थानबिन्दुको ऐतिहासिक पहलकदमी पनि हुनसक्छ । तर नयाँ ढङ्गको पार्टी निर्माणका लागि धेरै काम गर्न बाँकी नै छ ।
-अन्तरसङ्घर्ष चलिरहेको बेला तपाइर्ंले जुन विचार समूहको पक्षमा आफूलाई उभ्याउँदै आउनुभएको थियो, त्यसलाई छाडेर अर्कोतिर लाग्नुभएको भन्दै यसलाई उपप्रधानमन्त्रीको पदसँग जोडेर पनि चर्चा गरियो, यसलाई कसरी लिनुभएको छ ?
यो गलत कुरा हो । यसबारेको बुझाइ पनि गलत हो । क. प्रचण्डको नेतृत्व तथा राजनीतिक लाइनमा सहमति र त्यसको आधारमा पार्टी एकता हुनुपर्छ भन्ने बारेमा पालुङ्टारको सेरोफेरोमा हामी उहाँको साथ रहेका हौँ । त्यो अहिले पनि कायम छ । क.प्रचण्डकै नेतृत्वमा पार्टीलाई एकताबद्ध गरेर नेपाली समाजको अहिलेको सन्दर्भमा मौलिक ढङ्गले क्रान्तिका कार्यभार पूरा गर्नुपर्छ भन्नेबारे हामी एक ठाउँमा छौँ । यसबारे हामी यताउता गएका छौँ भन्ने कुरा सत्य होइन । त्यसको अर्थ क. अध्यक्षसँग कहिले पनि मतभेद हुँदैन भन्ने होइन । अनि क.किरण, क. बाबुरामसँग सधंै मतभेद नै भइरहनुपर्छ भन्ने पनि होइन । त्यसले गर्दा अहिले साङ्गठानिक रूपमा क.किरण, क. बाबुराम, क.बादल र हाम्रोबीचमा एक किसिमको छलफल भयो र त्यो छलफलका क्रममा हामीले अगाडि सारेका विषयमा क. अध्यक्षले पनि सहमति जनाउनुभयो । त्यसकारण क.अध्यक्षकै नेतृत्वमा अहिलेको विशिष्टतामा क्रान्तिका कार्यभार पूरा गर्नुपर्छ भन्ने कुरामा अहिले पनि हामी दृढ छौँ । दोस्रो, अहिले नेतृत्वसहित हामी सबै रूपान्तरण नभई यथास्थितिमा पार्टी एकताबद्ध सम्भव थिएन । त्यसैले पार्टीलाई एकताबद्ध गर्ने भूमिका हामीले खेलेका हौँ । यो ठीक र ऐतिहासिक भूमिका खेल्यौँ भन्ने हामीलाई लागेको छ ।
जहाँसम्म यसलाई उपप्रधानमन्त्री पदसँग जोडिएको कुरा छ, त्यो त नितान्त गलत हो । उपप्रधानमन्त्रीका लागि त अध्यक्ष कमरेडले प्रस्ताव राखिसक्नुभएको थियो । त्यसको लागि अर्को ढङ्गबाट चल्नुपर्ने कुने आवश्यकतै थिएन । दोस्रो, कुरा हामी त पार्टीले जे जिम्मेवारी दियो, त्यो पूरा गर्ने हो । यहाँ आएर कुनै व्यक्तिगत लाभका लागि केही गर्ने कुरा होइन । यस्तो चुनौतीपूर्ण र संवेदनशील मोडमा यो जिम्मेवारी लिने भनेको देशको अहिलेको आवश्यकता पूरा गर्ने भूमिका खेल्ने हो । तसर्थ पदको आकांक्षाको कारणले त्यस्तो भूमिका खेल्ने भन्ने कुरा मेरो प्रवृत्तिसँग पनि मेल खाँदैन । त्यो अब व्यवहारबाटै पुष्टि हुनेछ । कम्युनिस्ट पार्टीभित्र सधंै अन्तरसङ्घर्ष भइरहन्छ । मूल प्रवृत्तिमा कसैसँग सहमति भयो भने उसको हरेक कुरामा समर्थन हुन्छ, अरू कसैसँग राजनीतिक रूपमा विमति भयो भने हरेक कुरामा विमति हुन्छ भन्ने कुरा सत्य होइन । त्यस्तो अन्तरसङ्घर्षले रूपान्तरणतिर लाँदै लाँदैन स्थायी समीकरण र गुटबन्दीको दिशातिर लैजान्छ । अहिले हामी जुन साङ्गठनिक पहलकदमीका साथ अगाडि बढ्यौँ त्यसले त कहिले कुनै कमरेडसँग कुनै बेला अर्को कमरेडसँग एकता हुनसक्दोरहेछ, त्यसले रूपान्तरणलाई सहयोग गर्दोरहेछ भन्ने कुरा पो पुष्टि भएको छ त । त्यसैले हामीबीच जो अपवित्र गठबन्धन भयो भन्ने प्रचार सत्य होइन ।
यहाँले यस्तो दाबी गरे पनि पार्टी पङ्क्ति र जनमानसमा त तपाईंको त्यो भूमिकाप्रति सकारात्मक प्रतिक्रिया छैन नि !
अहिले क. बादल, मेरो, बाबुरामहरूसमेत मिलेर केही निष्कर्ष निकालेका छौँ, त्यसले पार्टीलाई फाइदा पुगेको छ । त्यसकारण कन्ˆयुजन हुनुपर्ने कुनै कारण छैन । विशेषतः अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको नकारात्मक अनुभवबाट सिकेर सङ्गठनात्मक विषयमा हामीले जे निष्कर्ष निकालेका थियौँ त्यसले अहिले पाँचवटा काम एकैचोटी गर्यो । एक, हामीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको सिंहावलोकन गरेर एकै व्यक्तिमा सबै अधिकार केन्दि्रत गर्नुहुँदैन । त्याहाँ केन्द्रीकरण र विकेन्द्रीकरणको द्वन्द्ववाद प्रयोग गर्नुपर्छ भन्ने विषयलाई व्यवहारमा लागु गर्यौँ । दोस्रो, सामूहिक नेतृत्वको अभ्यासलाई अझ प्रभावकारी बनाउने पहलकदमी गर्यौँ । त्यसो गर्दा अध्यक्ष कमरेड वा मूल नेतृत्व सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्ति हुनुका साथै अरू सबै टिम पनि सामूहिक नेतृत्वको परिपूरक बन्नुपर्छ र त्यसरी मात्र सामूहिक नेतृत्वको अभ्यास गर्न सकिन्छ भन्ने पुष्टि गर्यौँ । तेस्रो, अध्यक्षसहित हामी सबैलाई रूपान्तरणको प्रक्रियामा अगाडि लाने काम गर्यो । चौथो, पार्टीलाई एकताबद्ध बनायौँ । पाँचौँ, त्यही एकताबद्ध पार्टीले नै तत्कालीन राजनीतिक कार्यभार पूरा गर्ने दिशामा हामीले जोड दियौँ । किनभने तत्कालीन पार्टीको लाइन र कोर्समा पनि हामी सहमत भयौँ ।
पार्टीका कार्यकर्ता तथा आफन्तहरूले आˆनो मान्छे जिम्मेवार ठाउँमा रहँदा केही अपेक्षा गर्नु स्वाभाविक मानिने नेपाली संस्कार नै भएको छ, तपाइर्ंलाई पनि त्यस्ता केही आशा र अपेक्षा व्यक्त गरिएको होला वा गरिन्छ होला उहाँहरूलाई के भनिरहनुभएको छ ?
मेरो पार्टीले अहिले मलाई ठूलो जिम्मेवारी दिएको छ । त्यसप्रति म आभारी छु । राज्यको जुन भूमिकामा म आइपुगेको छु त्यो राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने स्थान हो । त्यसकारण मेरो सबैप्रति अनुरोध के छ भने ऐन, नियम, कानुन र प्रणालीलाई मिचेर आˆनो कुनै स्वार्थको लागि कसैले पहुँचको प्रयोग गर्ने दिशातिर नजानुहोला । त्यसप्रकारको भनसुनको प्रक्रियाले हाम्रो नयाँ नेपाल बन्ने प्रक्रियालाई नकारात्मक असर पुर्याउँछ । तर जहाँ जहाँ अन्याय भएको छ, जहाँ जहाँ ऐन नियम अनुसार हुनुपर्ने काम पनि भएको छैन र दुःख पाइरहेको छ, त्यस्तो कुरामा सबैको सुझावलाई स्वागत गरिनेछ । त्यो सुझाव तत्काल क्रियान्वयन गरिनेछ । त्यसैले म पार्टीका साथीलाई, सभासद् मित्रहरू, नेताहरू र नागरिक समाज सबैलाई अवाञ्छनीय क्रियाकलाप वा ऐन कानुन मिचेर व्यक्तिगत लाभ लिने काममा कसैले चासो नराखिदिनु होला । समय दुरूपयोग नगर्नुहोला । जनता र राष्ट्रको निम्ति कुनै काम गर्नुपर्नेछ भने त्यस्तो सुझाव छिटोभन्दा छिटो दिनुहोला त्यसलाई कार्यान्वयन गर्नको निम्ति कुनै काम गर्नुपर्नेछ भने त्यस्तो सुझाव छिटोभन्दा छिटो दिनुहोला त्यसलाई कार्यान्वयन गरिनेछ ।
त्यस्तो सुझाव तपाईंसम्म आउने कुनै प्रणाली वा संयन्त्र बनाउनुभएको छ ?
सुझाव लिन हामीले टेलिफोन नम्बर, एसएमएस, इमेल ठेगाना र सुझाव पेटिकालाई प्रयोग गर्ने सोच बनाएका छौँ । यसको ठेगानाहरू बारे हामी छिट्टै सार्वजनिक सूचना पनि जारी गर्दैछौँ । अर्को जनतासँग प्रत्यक्ष सार्वजानिक रूपमै छलफल अन्तरक्रिया गर्न सकिन्छ कि भन्ने बारेमा पनि म सोचिरहेको छु ।
0 comments: On Guffgaff with Narayan Kaji Shrestha
Post a Comment