Latest Update :

I will Not Marry - Komal Oli


वैशाख १ को संयोग गजबको छ, उनको जीवनमा। नयाँ वर्ष प्रारम्भ हुने यसै दिन उनको जन्मदिन र सरकारी जागिरसमेत पाएको दिन पनि हो। कोमल वली वैशाख १ को सुखद अनुभव अँगाल्न पाउँदा सधैं खुसी देखिन्छिन्। ०५० साल वैशाख १ गते उनले रेडियो नेपालमा समाचारवाचिकाका रूपमा जागिर पाएकी थिइन्। जन्मिएको साल नि ? टोलाउँदै उनले सीमित उत्तर दिइन्, वैशाख १ गते, वर्ष ? उनले भनिन्- 'उन्नाइस' कम भए जस्तो लाग्छ भने 'उनन्तीस', त्योभन्दा बढीचाहिँ होइन है, वलीले भनिन्- 'उमेर सोध्ने आँट गरेकोमा धन्यवाद।'

कोमल वलीको विवाह गर्ने उमेर घर्किसकेको छ, यसो भन्दैमा उनको विवाहको सम्भावना समाप्त भैसक्यो भन्नेचाहिँ होइन, सामान्यतया ने पाली समाजमा ३० पछि विवाहको सम्भावना लगभग टर्छ भन्ने मात्रै हो। कोमल वलीको विवाह किन नभएको होला त ? वलीले हाँस्दै भनिन्- 'भनेजस्तो मर्द नै भेटिएन, कसैले प्रेम प्रस्ताव राख्ने आँट नै गरेनन्, आँट गर्नेहरू मैले खोजेजस्ता भएनन्।'

वाकपटुता र भव्य शारीरिक संरचना हेर्दा उपयुक्त पुरुषहरूले प्रस्ताव राख्ने आँट नै गरेनन् कि जस्तो लाग्छ अथवा उनले भने जस्तै गोजीमा गाँठ भा'को मर्द आएनन् जस्तो देखिन्छ। लामो जीवन एक्लै भोगिसकेपछि विवाह गर्नैपर्छ भन्ने मान्यताबाट उनी धेरै टाढा पुगिसकेकी छिन्। विवाह गर्नै पर्छ र ? उनले प्रतिप्रश्न पो गरिन्।

राम्री कोमल, सानैमा चर्चित कोमल, अझ सुरिलो स्वरका साथमा प्रत्यक्ष दोहोरी गायनको भिडन्तमा सधैं विजयी हुने कोमललाई आफ्नो बनाउन चाहने हजारौं थिए तर उनले दायित्व निर्वाह गर्नुपर्ने दुईतर्फी प्रेम गरिनन्, जसको एउटै कारण उनकै भनाइमा उनी हजारौं होइन, लाखौं नेपालीको माया पाउने आशामा थिइन्। मलाई मन पराउने धेरै थिए र मैले पनि केहीलाई मन पराएको थिए, उनले सम्भिइन्, तर समयले मलाई सानो उमेरमै यति धेरै व्यस्त बनाइदियो कि त्यसलाई निर्वाह गर्न छुट्टै समय निकाल्न सकिन्।

कलेजमा वलीको कसैसँग 'लभ' नपरे पनि मन पराउनेहरूको संख्या धेरै थियो, यता वली भने दोहोरी गीत, लोकगीत, खेलकुद, वक्तृत्वकला, साहित्यिक प्रतियोगितामा भाग लिँदैमा बेफुर्सदी थिइन्। उनले भनिन्- मैले पनि माया गरें तर त्यो विवाहमा परिणत भएन।

सुखद भविष्यका लागि विवाहदेखि यति डराउनु कति जायज हो ? उनले भनिन्- हाम्रो समाजमा साथीको सम्बन्ध रहुन्जेल एक-अर्काको सम्मान हुन्छ, खासगरी महिलाको हकमा, विवाह गरिसके पछि प्रायः महिला 'मेल डोमिनेटेड' भएर बाँच्न बाध्य छन्। कोमलका अनुसार विवाहपछि साथी भनेको त्यही पुरुष हरेक विषयमा रुल्स एन्ड रेगुलेसनको कुरा गर्छ, यो ठाउँमा जाऊ, त्यहाँ नजाऊ, यो गीत गाउँ नगाऊ, त्यो कुनै पुरुषसँग गीत नगाउ जस्ता कुरा गर्छन्, ती सबै झन्झटबाट मुक्त हुन मैले विवाह नगर्नुमै भलो देखें।

जीवनको यो मोडमा आइपुग्दा विवाह नहुनेमा कति प्रतिशत ढुक्क हुनुहुन्छ ? 'विवाहका लागि यति नै उमेर आवश्यक हुन्छ भन्ने छैन, विवाह र मृत्यु अनिश्चित कुरा हुन्। हुन पनि सक्छ, नहुन पनि,' कोमलले भनिन्- 'भावीले लेखेको छ भने हुन पनि सक्छ, तर मेरो निर्णय सोध्नुहुन्छ भने सम्भवतः म अब विवाह गर्दिनँ नै होला। मैले विवाह गरिनँ भनेर म हाम्रो संस्कार एवं परम्पराको विरोधी हुँ भन्नेचाहिँ बिलकुल होइन,' कोमलले थपिन्- 'मलाई हाम्रो संस्कार एकदमै मनपर्छ, खासगरी विवाह समारोह, तर म अरूको विवाह समारोहमै मात्र रमाउँछु।'

उनका प्रशंसकहरूमध्ये कतिपय उनले विवाह गरेको हेर्न चाहन्छन्। 'तर कथाले समयसँगै अर्को मोड लिँदो रहेछ' कोमलले भनिन्- 'पाँच वर्ष अघि किन विवाह नगरेको भनेर चिन्ता जनाउनेहरू अहिले विवाह नगरेर राम्रो गर्नुभयो भन्न थालेका छन्।' वली भन्छिन्- 'धेरैले छोरी भएर पनि आज जुन ख्याति कमाउनुभएको छ, त्यसका लागि बधाई छ भन्छन्, मैले पनि काममा आफूलाई समर्पण गरेकी छु, यही नै मेरो जीवनको उपलब्धि हो।' कोमल यो मोडमा आइपुग्दा आफ्नो घर र त्यसकी आफू छोरी भएर बाँच्न सक्ने आधार बन्नुमा अविवाहित हुनुनै मुख्य रहस्य भएको समेत बताउँछिन्। प्रतिशतमा विवाह नहुने सम्भावना कत्ति छ त ? कोमलले भनिन्- '७५ प्रतिशत।'

विवाहका बारेमा परिवारको भनाइ नि ? कोमलका अनुसार विवाहको प्रसंगमा बुबा-आमाले दबाब दिएका छैनन्। बुबाले त झन् तिमी लक्ष्य र विवाहमध्ये एउटा रोज भनेर नै सल्लाह दिनुहुन्थ्यो। 'सबैले चिन्ने मानिस हुनुपर्छ, तिमी आफ्नो गन्तव्यमा पुग्दा तिम्रो जीवन आफैंमा सार्थक हुन्छ भनेर ढाडस दिनुहुन्थ्यो।' कोमल भन्छिन्- 'मन पराएको व्यक्ति छ भने, भन उसले तिमीलाई तिम्रो लक्ष्यमा पुग्न कत्तिको सहयोग गर्छ बुझ, अनि विवाह गर समेत भन्नुहुन्थ्यो।'

बुबा आफ्नो सही साथी भएको उनको बुझाइ छ। विवाहका प्रसंगमा अरू छोराछोरीसँग सोधे पनि हालसम्म कोमलसँग परिवारले कहिले विवाह गर्छौ भनेर सोधेको छैन। यसरी विवाहको प्रसंगमा परिवार मौन रहनुको कारण सानो उमेरदेखि नै कोमलले घरमा छोराको जस्तो पहिचान बनाउनु पनि हो। 'बहिनी प्रज्ञा, सानैदेखि घर सजाउने तथा भान्छाको काममा चासो देखाउँथी' उनी सम्भिmन्छिन्- 'बहिनीहरू पुतलीको खेलमा रमाइरहँदा म घर बाहिरको काममा बढी रमाउँथे।'

विवाह गरेपछि कसैको घर सम्हाल्नुपर्ने भएकाले लक्ष्य भेट्टाउन बाधा पुग्ने कुरामा बुबा सहमत थिए। बुबासँग सधैं राजनीति, समाचार र सामाजिक कुरामा गफगाफ हुन्छ। दिदी कोमल अविवाहित रहे पनि बहिनी प्रज्ञाको विवाह भयो। दिदीको विवाह नगरी बहिनीको गर्दा दिदीको विवाह नहोला कि भन्ने मनोवैज्ञानिक त्रास पनि कहिल्यै नभएको बुबा ललितबहादुर वली बताउँछन्।

सफलताको शिखरको यात्रा गरिरहँदा कोमललाई संस्कारकै निरन्तरताका लागि पनि विवाह गर्नुपर्छ कि जस्तो लाग्यो। त्यसका लागि परिवारको सहयोगमा केही प्रयास भए। माग्न आएका धेरैमध्ये केहीसँग साथीका रूपमा नजिकिँदा उनीहरूको यथार्थ बुझेको वलीले बताइन्। संगत गरे पछि विवाह गरेर असफल दाम्पत्य जीवनको उदाहरण बन्नुपर्ने निश्चित जस्तै भएपछि उनले विवाह नगर्ने निर्णय लिइन्।

शरीरको आवश्यकता ? उनी हाँसिन् र भनिन्- 'जसलाई कामको बढी चिन्ता हुन्छ, त्यसले यौनका विषयमा पनि सोच्न त्यति भ्याउँदैन'। शरीरको आवश्यकता हरेक व्यक्तिअनुसार फरक पर्ने भएकाले आफूले यो विषयलाई प्राथमिकता नदिएको उनले बताइन्। मैले 'मानिसको जीवनमा प्रेम अनावश्यक छ कहाँ भनेकी छु र ? प्रेम हुन्छ, साथीको सम्बन्ध हुनसक्छ,' उनले भनिन्- 'तर विवाह, शरीरको आवश्यकता भन्ने कुरा प्रमुख हो जस्तो मलाई लाग्दैन। फेरि यो कुरा गोपनीय रहेकै राम्रो हुन्छ।'

जीवनयापनका क्रममा धर्म पुत्र वा धर्मपुत्री राख्ने सोच छ ? कोमलका अनुसार धर्मपुत्र वा पुत्री राख्दा त्यसले सही बाटो पक्रिए त ठीकै छ, तर त्यही नै आफ्ना लागि अभिशाप बन्ने हो कि भन्ने डर पनि हुन्छ। 'यसको विकल्पमा मैले हुम्लाको विकट गाविसको विद्यालयमा अध्ययन गर्ने कक्षा १ देखि ५ कक्षासम्मका ५ जना छोरीलाई विगत ५ वर्षदेखि पूर्ण छात्रवृत्ति दिँदै आएकी छु।' उनले भनिन्- 'अरू ३ जना विभिन्न स्थानका बालबालिका र घरमै पनि सानी छोरी राखेर पढाइरहेकी छु।' पहिलो प्रेम

स्कुले जीवनको प्रारम्भमा प्रेमको अनुभूति भएन, कोमलले भनिन्- 'तर १६-१७ लागेपछि जोवनले प्रेम खोज्दो रहेछ, मलाई पनि एकपटक प्रे मको अनुभूति भयो।' आफूसँगैका साथीहरूको विवाह हुन थालेपछि कोमललाई पनि विवाह गरूँ कि जस्तो भयो। 'एउटा मनले सबैले गरिरहेको विवाह गर्दा विवाह गरूँ-गरूँ लाग्थ्यो। अर्कातर्फ भविष्य सोच्दा विवाह करियरको बाधक हो भन्ने थियो ।' वलीले भनिन्- 'दोसाँधमा रहँदा मैले विवाह गर्नुहँुदैन भन्ने नै निर्णय लिए।' बिछट्ट राम्री भएकाले उनलाई मन पराएर चिठीपत्रहरू पठाउने थुप्रै थिए, पुस्तक दिने वहानामा भित्र चिठी घुसाउने पनि थिए। कोमलका अनुसार स्कुले उमेरमा धेरै जनामा एक जना उनको मुटुमा गढेको थियो। उसलाई देखूँ-देखूँ लाग्ने, जम्काभेटमा आँखाको माध्यमबाट प्रेम अभिव्यक्त गर्ने, नजिक हुने वहानामा गफ गर्न मन लाग्ने जस्ता घटनाले ती युवकप्रतिको आफ्नो आशक्ति बढेको उनले अनुभव गरिन्, तर साथीले आफ्नै सहपाठीलाइ मन पराउँछ भन्ने सुनेपछि त्यो एकतर्फी प्रेममा ब्रेक लाग्यो।

कलेज जीवनमा पनि उनलाई मन पराउनेहरूको लाइन नै थियो। तत्कालीन परिवेशमा त्यो पनि गाउँको कलेजमा प्रेमी-प्रेमिका अहिलेको सहरको जस्तो स्वच्छन्द रूपमा प्रेम अभिव्यक्त गर्न सक्दैनथे। थुप्रै चिठी आए पनि लक्ष्य नभेट्टाइसकेको त्यो अवस्थामा कसैलाई उनले जवाफ फर्काइनन्। 'कलेज आइपुग्दा म प्रेमको समुद्रमा डुबुल्की मार्ने सोचमै थिइन्' उनले भनिन्- 'त्यो समयमा कसैको प्रस्ताव स्वीकार गर्नु भनेको केही दिनको अफेयर पछि विवाह गर्नु थियो।'


गीतिसंग्रहमा कोमल

दोहोरी गीत प्रतियोगितामा मुलुकभरकै प्रतियोगीलाई उछिनेकी कोमलले ०४४ सालमै डा. गोविन्द आचार्य तथा बहिनी प्रज्ञाको साथमा आफ्नो स्वरमा 'राप्तीको झरना' शीर्षकको गीतिसंग्रह श्रोतामाझ ल्याइन्। स्कुले अध्ययन पूरा गर्ने क्रममै आएको उक्त संग्रहले श्रोताको यति धेरै माया पायो कि उनी चर्चाको शिखरमा पुगिन्। ०४५ सालमा लोकगायक प्रेमराजा महत र उनको 'बजाइदेऊ ताली' शीर्षकको गीतिसंग्रह आयो। जुन पनि सुपर हिट भयो। त्यसपछि महतकै साथमा आएको 'बाँझो खेतमा' अर्को लोकपि्रय गीतिसंग्रह थियो। ०५२ सालमा उनले एकल लोकगीतिसंग्रह 'मलमल किरी' आयो। मलमल किरी त सदावहार हिट एल्बम मानिन्छ, वलीलाई मलमल किरीकी गायिकाका रूपमा अक्सर श्रोताले चिन्छन्। मलमल किरी यति लोकपि्रय थियो कि उनले पहिलो पटक त्यो गीतको म्युजिक भिडियो तयार गरिन्, यो गीतले नै उनलाई मह जोडीका साथ पहिलो पटक बलायतमा कार्यक्रमका लागि २७ दिन बस्ने अवसर दियो। त्यसपछि प्रत्येक वर्ष एउटा गीति संग्रह स्रोता माझ लाएकी कोमलले ०६१ साल यता आÏनो गायन प्याटर्न चेन्ज गरिन् । यो प्याटर्नलाई पछ्याएर पछिल्ला वर्षहरूमा धेरैले यस्तै तीज गीत गाउन थालेका छन् । वली अविवाहित रहेको कुराले निकै चर्चा पाइरहेका बेला ०६१ सालमा बिहे भा'छैन आएकोथियो । यसले नयाँ रूपमा कोमल वलीलाई स्थापित गर्‍यो। ०६२ सालमा पोइला जान पाम, ०६३ सालमा कान्छी बूढी नल्याऊन् मेरा बूढाले, ०६४ सालमा झकास, ० ६५ झ्वाँक तन्नेरी, ०६६ मा बदमास र ०६८ मा बबाल तीज गीतिसंग्रह श्रोतामाझ आएकी छन्।

विवाह हुन लागेको त्यो क्षण

विदेशमा बस्दै आएका एक युवकले विवाहका लागि हत्ते गरेपछि उनले ती व्यक्तिसँग विवाह गर्ने सोच पनि बनाइन्। उनले विवाहका लागि गरेको दोस्रो प्रेम यही नै थियो। युवकसँग विवाहका लागि तयारी सुरु भैसकेको थियो। इन्गेजमेन्ट हुने दिन नजिकिएका बेला एक दिन उनले उक्त युवकलाई बाईबाई भन्दिन्। कोमलका अनुसार नजिक भएर चिन्दा त्यो युवकसँग पनि दाम्पत्य जीवन सहज नहुने निष्कर्ष निस्कियो। अनावश्यक प्रश्न तेस्र्याउन थालेपछि यसले विवाह पछि झन् के गर्ला भन्ने डरले उनी विवाह नगर्ने मुडमा पुगिन्। वली भन्छिन्- 'त्यो युवकस ँग विवाह भएन भनेर मलाई कुनै ग्लानि छैन।'



यस पटकको तीज गीत कम सेक्सी छैन

बिहे भा छैन, पोइला जान पाम, झ्वाँक तन्नेरी, कान्छी बूढी नल्याऊन् मेरा बूढाले, गोजीमा गाँठ भा'को, धत्तेरिका शिवजी रै'छौ बदमासजस्ता ठेट शब्द प्रयोग गरी छुट्टै स्वादका गीत गाउँदै आएकी कोमल वलीले यो वर्ष फरक शैलीमा तीजि गीतिसंग्रह तयार पारेको बताइन्। 'नेपाली लोक फ्लेवरलाई मर्न दिएकी छैन, अझ यसलाई विश्वव्यापी बनाउन डिस्कोका साथमा प्रयोग गरेकि छु'— उनले भनिन्।

राम्रो असल पति पाउने अभिलाषामा तीजका गीत गाउँदै आए पनि यसपटक त पोइ खोज्नुभएन नि, किन ?

मैले प्याटर्न चेन्ज गरेकी हुँ, किनभने मानिसलाई एकै प्रकारको खाना खाइरहँदा अर्को स्वादको आवश्यकता महसुस हुन्छ। मेरो सन्दर्भमा पनि दर्शक-श्रोताले एकै प्रकारको गीत सुनिरहँदा झर्को लागेको हो कि भनेर यस पटकको तीजमा डिस्को गीत लिएर आएकी हुँँ। सधैं राम्रो पति पाऊँ भन्ने गीत सुनाउँदा उहाँहरू दिक्क हुनुहुन्छ।

अब श्रीमान् चाहिँदैन भन्ने मुडमा पुग्नुभएको हो कि ?

म करोडौं नेपालीको माया पाएकी कलाकार हुँ, त्यसैले पनि एउटा श्रीमान्को माया मात्र मेरो जीवनका लागि पर्याप्त हुँदैन। ३ करोड ने पालीलाई म पनि माया गर्छु, त्यसैले आमनेपाली र मेरो बीचको मायामा श्रीमान्को उपस्थिति अवरोधक मात्र हुन्छ कि ? जीवनमा श्रीमान् नै चाहिन्छ भन्ने मान्यताबाट पनि म धेरै पर पुगिसकेकी छु।

यसपटकको डिस्को तीजका लक्षित श्रोता को हुन् ?

तीजमा रमाउने सम्पूर्ण नेपाली दिदी-बहिनीलाई यो फरक स्वादको डिस्को नम्बरले मनोरञ्जन दिने नै छ, त्यसबाहेक दाजुभाइ, बुबा-आमाहरू पनि यो गीतमा रम्न सक्नुहुन्छ।

तपाईंको परिचय लोकगायिका अनि गीतचाहिँ डिस्कोको गाउने ?

संगीतको कुनै सीमा वा क्षेत्र हँँदैन, डिस्कोमा लोकगीत वा लोकगीतमा डिस्कोको प्रयोग गर्न सकिन्छ। यसपटकको तीज गीतमा अहिलेको उत्तर आधुनिक जेनरेसन पनि रमाउन सकोस् भन्ने हो, नेपाली पहिचानको लोकगायनलाई मैले डिस्कोमा लगेर मर्न दिएको छैन, अझ यसलाई समय सुहाउँदो व्यापकता दिएकी छु।

तपाईं त सेक्सी गायिका, दर्शक-श्रोताले यो तीज गीतलाई मन पराउनु हुनेछ भन्ने मुख्य आधार के छ ?

मुख्य आधार नै यसको म्युजिक र भाका हो, स्वरलाई म्युजिकले डोमिनेट गरेको छ, त्यसैले मैले यो गीतमार्फत दर्शक-श्रोतालाई मज्जाले नाच्न सकून् भन्ने अपेक्षा राखेकी छु। शब्द, प्रस्तुति र म्युजिक भिडियो पनि उत्तिकै सबल छ। यस पटकको गीत कम सेक्सी छैन, झन बबाल छ।

कोमल वलिको स्थापित व्यक्तित्वलाई यस्तो गीतले दुर्बल सावित गर्ला कि ?

मेरो व्यक्तित्वलाई यसले प्लस नै गर्छ, मैले यो गीत एक दर्जन स्टेज शोमा प्रस्तुत गरिसकंे, वान्स मोर र वाह-वाही पाएकी छु। यसपटकको तीजमा जमानाअनुसार फेरियो तीज, नाचौं हामी डिस्कोमा गीतले फूल भोलुममा नाच्न उत्प्रेरित गर्नेछ। 
Source : Saptahik Weekly

0 comments: On I will Not Marry - Komal Oli

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.