Latest Update :

Be an A.C not a FAN - Comedy by Manoj Gajurel


'फ्यान' माने पंखा मात्र होइन, आफ्नो 'रोल मोडल'का लागि ज्यान दिनेलाई पनि 'फ्यान' भन्ने चलन छ। जसरी हरेक सर्वसाधारणका एक न एक 'रोल मोडल' हुन्छन्, त्यसरी नै प्रत्येक 'सेलिब्रिटी'का धेर थोर 'फ्यान'हरू पक्कै हुन्छन्।

(याद रहोस्, कलाकारहरू मात्र हैन, समाजले 'गने/मानेका' जुनसुकै पेसाका व्यक्तित्व पनि 'सेलिब्रिटी' हुन सक्छन्।)

जसरी हावा दिने 'पंखा-फ्यान'हरू विभिन्न आकारका हुन्छन्, त्यसरी नै 'प्रशंसक' दावा गर्ने 'फ्यान'हरू पनि भिन्न-भिन्न प्रकारका भेटिन्छन्। जस्तो कि, आफ्नो 'रोल मोडल'सँग खान्ते-पिन्तेमा रमाउने 'टेबुल फ्यानहरू', आफ्नो मान्छेले 'हाच्छ्यूँ' गरे पनि ताली बजाउन तयार रहने 'स्टेन्ड फ्यानहरू', 'रोल मोडल'कै नाम लिएर जिन्दगी झुलाउने 'सिलिङ-फ्यानहरू', तिनकै फेसन र हाउभाव 'कपी' गर्नमा रमाउने 'ह्यान्ड फ्यानहरू' आदि ! संसारमा यस्ता 'फ्यान'हरूको आवादी निकै ठूलो छ।

तर, ती 'फ्यान'हरूले 'सेलिब्रिटी'हरूलाई साँच्चिकै शीतलता दिएका छन् त, प्रश्न गम्भीर छ। चे ग्वेभाराको 'ड्रेसअप'को नक्कल गर्ने- तर उनको क्रान्तिकारीतालाई बुझ्न नसक्ने, बब मार्लीको संगीतमा उफ्रिने- तर उनको गीतको भाव नबुझ्ने, राजेश हमालको 'हेयर स्टायल' नक्कल गर्ने, तर उनको बौद्धिक पक्षलाई नजरअञ्दाज गर्ने, महजोडीलाई जोडदार समर्थन गर्ने तर उनीहरूको एकताबाट सिक्न नखोज्ने ! यस्ता 'फ्यान'हरूबाट न 'सेलिब्रिटी'ले पाउँछन्, न त समाजमा शीतलता नै आउँछ !

हाम्रा 'रोल मोडल'हरूको कुरा गरिसाध्ये छैन ! यता हामी 'भुवन केसी'हरूलाई आफ्नो आदर्श-पात्र मानिरहने, उता हाम्रा 'आदर्शहरू'चाहिं 'गर्लफ्रेन्डको खेती' लगाएर 'आदर्श नायक'को बाली खाइरहने ! आफ्नो मन परेको नायकले गरेको 'भ्यागुते जम्प'लाई पनि 'सुपर स्टन्ट' ठान्ने हनुमानमार्का 'फ्यान'हरू र 'फ्यान'ले गरेको 'पोजिटिभ कमेन्ट'लाई पनि 'विरोधीहरूको षड्यन्त्र' मान्ने 'रोल मोडल'हरू !! छैन त अलौकिक एकता ?!

'रोल मोडल'को व्यवहारबाट 'फ्यान'ले जीवनको अर्थ सिकोस्, 'फ्यान'को विचारबाट 'रोल मोडल'ले जगतको वास्तविकता बुझोस्, अनि पो 'फ्यान' हुनु र 'रोल मोडल' बन्नुको पनि मज्जा हुन्थ्यो ! 'फ्यान' र 'रोल मोडल'बीचको सम्बन्ध शिक्षक र विद्यार्थीको जस्तो हुनुपथ्र्यो। तर, भैदियो— राम र हनुमानको जस्तो !

'रेखाका लागि दाह्री नपाल्ने', 'निखिलका सारी नफाल्ने', 'फलानो गायकको जस्तो केश रंगाउने', 'चिलानो खलनायकको जस्तो दाँत बंग्याउने'- यस्तो अनौठो हनुमानगिरी छ यहाँ ! तर, 'फ्यान'ले झिंगा धपाउने भैंसीको 'पुच्छर' हुने हैन, आफ्नो 'रोल मोडल'लाई टल्काउने 'खाक्सी' बन्न सक्नुपर्छ। 'सेलिब्रिटी'ले पनि आफूलाई आकासको 'तारा' ठान्ने हैन, प्रशंसकहरूले नै बनाएको 'गहना' मान्नुपर्छ।

असल 'फ्यान' त्यो हो जसले आफ्नो 'रोल मोडल'बाट सिकेको ज्ञानले आफ्नो जीवन सार्थक बनाउँछ। सफल 'रोल मोडल' त्यो हो, जसले आफ्नो कला, विचार र व्यवहारद्वारा 'फ्यान'हरू मार्फत सिंगो समाजलाई उज्यालो पार्न सफल हुन्छ। तर, समाजमा यति धेरै 'रोल मोडल'हरू छन्, तिनका झन धेरै 'फ्यान'हरू छन्, तैपनि समाजमा शीतलता छाइरहेको छैन ! किन होला ?

हुनसक्छ, 'रोल मोडल' नै विशाक्त भए कि ! फ्यान'ले 'रोल मोडल'बाट अक्सिजन तान्नै जानेनन् कि ! 'फ्यान'को एकोहोरो युग समाप्त भएर 'एयर कन्डिसन' को जमाना आएकाले हामी 'फ्यान' हैन, 'एसी' पो बन्नुपर्ने हो कि ! तपाईंलाई के लाग्छ ?
source: Saptahik Weekly

0 comments: On Be an A.C not a FAN - Comedy by Manoj Gajurel

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.