Latest Update :

Nepali Lekh - Ek Sanjhko Bhet


(source:- Saptahik Weekly) 
सम्बन्धलाई बुझ्न नसक्दा त्यसले जति दुःख अरू कुनै चीजले दिँदैन। हरेक चुम्बनलाई यौनसँग गाँसेर बुझ्ने हो भने यहाँ बाबुले पनि छोरीलाई चुम्बन गर्नेछैन, आमाले ओठमा उर्लिएको प्रेमलाई आफ्नो छोराको ओठमा खन्याउन सक्दिनन्। प्रेमका धेरै रूप हुन्छन्। स्नेह, करुणा, प्रेम, दया, अनुकम्पा, अनुराग भनी प्रेमका धेरै रूप विभाजन गरेका छन्, प्रेमीहरूले। मैले पनि तिमीलाई प्रेम गरेको छु। यो कुरा स्वीकार गर्दा मलाई रत्तिभर लज्जाबोध छैन तर यो प्रेममा यौनको कुनै उपस्थिति छैन। सायद यौनबिनाको प्रेम कल्पना गर्न सकिन्छ भने मैले तिमीलाई गरेको प्रेम नै हो। म तिम्रो प्रेम र त्यससँग जोडिएको सुखको जानकार थिएँ। तिम्रो प्रेम र त्यो प्रेमको सुखमा दिल जलाउने म बौलाहा त अवश्य होइन। मैले आफूलाई प्रीतिकर लागेको फूलमा पनि भँवरालाई भुनभुनाउने स्वीकृति दिएको छु किनभने त्यो भँमरा, यो फूलको पि्रय हो। मैले फूलमा भुनभुनाउने भँमराको हत्या गरिनँ। मौरीहरूका पखेटा काटेर अपाङ्ग बनाइनँ। जीवनमा जो आफ्नो पि्रय छ, ऊसँगै जीवन बित्यो भने मानिस सुखी हुन्छ भने मेरो मान्यता हो।

तिमीले पनि हामीबीचको सम्बन्धको दिगोपन चाहेकी हौली, तर परिस्थिति र समय यति ईष्र्यालु थियो कि हामी दुवै त्यो सम्बन्धलाई बलिदान गर्न बाध्य भयौं। आज हाम्रो मुटुमा त्यो सम्बन्धको पवित्रतासिवाय केही बाँकी छैन। तिमी मेरो महानतामा रोएकी हौली, म तिम्रो महान् संवादलाई आँसुले चिस्याउँदै छु। मेरा कानमा गुँजिन्छन् अझै तिम्रा ती महान् बोलीहरू। जूनलाई साक्षी राखेर हामीले मनका कुराहरू साटेका छौँ, प्रविधिको सहायतामा। ती संवादहरू अब फर्केर नआउलान् तर ती संवादको अन्तरध्वनि अझै कानभित्रै कतै बास बसेजस्तो लाग्छ। जसले जुनबेला पनि गुँजेर शून्यतालाई चिर्न सक्छ। मौनतालाई कोलाहल बनाउन सक्छ। तिमी कविता कोर्न कहिल्यै नछोड है भन्ने तिम्रो अन्तिम बोलीले मलाई अब जीवनभरि कवि बनाउने भयो नै। कलमको हरेक स्पर्शमा तिम्रो सम्झना पनि जोडिने भयो।

मलाई माफ गर, नचाहँदा-नचाहँदै पनि हाम्रो सम्बन्ध केवल दुई दिनको भयो र एउटा झीनो साँझको अति पातलो भेटघाटसिवाय हामीबीच भौतिक रूपमा अर्को सम्झन सक्ने वस्तु पनि रहेन। सकिन्छ भने त्यो साँझ पनि मलाई फर्काइदिनु। त्यो धूमिल साँझ मैले बिताएको होइन, कसैले बिताएको हो वा मेरै कथाको कुनै पात्रले चोरेको साँझ हो भन्दै त्यसलाई पनि बिर्सने चेष्टामा छु। यद्यपि मलाई थाहा छ, म त्यो साँझलाई बिर्सन सक्दिनँ।

हिजो म तिम्रो प्रेमको शुभेच्छुक र आज पनि। ईश्वरसँग प्रार्थना गर्छु, तिमी फूलको मालासम्मै पुग। सोह्र वर्षको उन्माद पिएर अरू सुन्दर युवतीझैँ ढुंगे प्रेम नगर। तिमीसँग एउटा कविताबाहेक मैले लिनुपर्ने केही छैन। त्यो धूमिल साँझमा मैले तिमीलाई दिएको थिएँ। आज आएर सोच्छु, त्यो कविता, तिम्रो हो कि मेरो ? जसको होस्, च्यातेर टुक्रा-टुक्रा पारी भोको बतासलाई ख्वाइदिनु। कुनै दिन त्यो बतास हुरी भएर बौलाएका बेला जङ्गलका पातहरूमा त्यसलाई मिसाइदिन्छ। असहजताका कारण मैले तिम्रो नाम त लिइनँ, तर ओठवाट त्यो दुई अक्षर किन पग्लिएर जाँदैन ? शायद यो लामो जीवनमा त्यो नाम पनि मसँगै यात्रामा डोरिन चाहन्छ। होइन भने मुटु र ओठमा किन त्यसको अस्तित्व रह्यो ?

प्रेमकृष्ण श्रेष्ठ

0 comments: On Nepali Lekh - Ek Sanjhko Bhet

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.