Latest Update :

Rajesh Hamal - Versatile Hero of Nepali Movie Industry


'उमेर धेरै भए पनि हेर्दा कलिलो देखिने को हो ?' गायक राजेशपायल राईले नायक राजेश हमालसँग सोधेको गाउँखाने कथा शैलीको प्रश्नको उत्तरमा त्यस्तो व्यक्ति आफू नै भएको सुनाउँदै अट्टहास छोड्ने नायक हमाल त्यतिबेर छक्क परे, जब गायक राईले त्यसको सही उत्तर आफू भएको जिकिर गरे । उमेरका दृष्टिकोणले हेर्दा गाउँ खानेकथाको सही उत्तर राजेश हमाल नै
मिल्दो भएको अन्य सहभागीहरूको तर्क थियो । कुरैकुरामा दुई राजेश आफु कलिलो देखिएर विवाह गर्ने प्रसंग उधिनिरहेका थिए ।

राजेश हमाल, नेपाली चलचित्र हेर्ने-नहेर्ने, सबैले चिन्ने नाम हो । उनको नामअगाडि महानायक वा सुपरस्टार जे जोडे पनि नेपाली चलचित्र उद्योग र राजेश हमाल परिपुरक भएको पछिल्लो दुई दशकको हमालको कलिउड यात्राले देखाउँछ । सफल नेपाली चलचित्रका निम्ति राजेश हमालको टाउको मात्र भए पनि पुग्छ भन्ने मान्यता अद्यावधि रहनुले पनि उनी यो उद्योगका सर्वाधिक सफल नायक हुन भन्ने कुरा पुष्टि हुन्छ ।


चलचित्र उद्योगमा त उनी सफल छन् नै, आमनेपाली समाजमा पनि उनको ओजस्वी व्यक्तित्वको प्रशंसा हुन्छ । साप्ताहिकले केही समय अघि गरेको आकर्षक दस पुरुषको सर्वेक्षणका क्रममा पनि राजेश हमाल नम्बर एकमा थिए । चलचित्र उद्योगबाहिर उनको रहस्यमय छवि, बौद्धिकता, वाकपटुता एवं लगनशील व्यक्तित्वको सधैं प्रशंसा हुँदै आएको छ । 'उनको शारीरिक संरचना नै अचम्मलाग्दो छ, पृथक् संरचना भएकै कारण उनी अरूभन्दा भिन्न किसिमका मानव हुन् जस्तो लाग्छ ।' नायिका करिश्मा मानन्धर भन्छिन्- 'त्यसकारण नै राजेश हमालको छविप्रति धेरै आकषिर्त छन् ।'

'राजेश हमाललाई ड्रेस सेन्स छैन, उनी नियमित एउटै हेयरस्टाइलमा रहनुले पनि उनलाई यस्ता कुराको ज्ञान छैन भन्ने कुरा पुष्टि हुन्छ', यो उनका बारेमा गरिने नकारात्मक टिप्पणी हो, तर स्वयं नायक हमाल भने यो कुरा मान्न तयार छैनन् । उनी भर्सटाइल गेटअपका निम्ति सहजै उपलब्ध हुन सक्ने नायक हुन् भन्ने कुरा गत सोमबार साप्ताहिकले गरेको विशेष फोटोसेसनका क्रममा पनि प्रमाणित भयो ।

सात किसिमका पहिरन र सबै पहिरनअनुरूपकै हेयर स्टाइल तथा जुत्ता प्रयोगका सन्दर्भमा उनी कुन पहिरन आफूलाई म्याच गर्‍यो भनेर क्रु टिमलाई बताइरहेका थिए । 'शेरवानी, ग्रन्ज लुक र सुटमा लुक्स म्याच गरेजस्तो लाग्यो' राजेश हमाल फोटोसेसनपछि भन्दै थिए- 'आजको मेहनत हेर्दा कुनै चलचित्रमै काम गरिरहेको जस्तो अनुभूति भयो, तर म आज सधैंका दिनभन्दा बढी खुसी छु, किनभने आज मेरा राम्रा तस्बिर महेश प्रधानको क्यामेरामा कैद भएका छन् ।' होटल सांगि्रलाको स्वीमिङ एरिया, गार्डेन तथा लबिमा भएको फोटोसुटका क्रममा करिब डेढ दर्जन क्रु टिमले काम गरेको थियो ।

'सुरुमै नङ्ग्याइदिने' फोटोसेसनका क्रममा लाइटका कारण सुरुमै स्वीमिङ कस्ट्युममा फोटोसुट गरिने कुरा बताइएपछि राजेश भन्दै थिए, 'लौ ठीकै छ, तपाईंहरूकै चाहनाबमोजिम काम सुरु गरौं ।' साप्ताहिकको १६ औं वाषिर्कोत्सव विशेष अंकका निम्ति राजेश हमालको फोटोसेसनका लागि फेम फेसन, कुपन्डोलले पहिरन तयार पारेको थियो । ड्रेस डिजाइनर कृष्ण कटुवालको संयोजनमा तयार पारिएका प्रायः सबै पहिरनमा हमाल खुलेर प्रस्तुत भए । फोटोसुटका लागि शिखर सुजले जुत्ता उपलब्ध गराएको थियो । फोटोसेसनका क्रममा हेयरस्टाइलिस्ट ए वान सैलुन, ठमेलका विपिनले सातवटै लुक्समा हेयरस्टाइल तथा ग्ल्यामर ब्युटी क्लब, डिल्लीबजारकी रोशना महाजूले मेकअप गरेर हमाललाई सिगारेका थिए ।

फोटोसेसनका क्रममा साप्ताहिकका सुव्रत आचार्य तथा कोरियोग्राफर रोजिन शाक्यले फोटोपोजका लागि स्टाइलिसको भूमिका निर्वाह गरे । होटल सांगि्रलाका सेल्स म्यानेजर जित लामाले फोटोसेसनका क्रममा विशेष सहयोग गरेका थिए । फोटोसेसन सकिएपछि शिखर सुजले सबै सात जोडी जुत्ता तथा फेमले एउटा पेन्ट नायक हमाललाई उपहारस्वरूप प्रदान गरे ।

राजेश हमालको बाहिरी आवरण र भित्री भावनामा धेरै नै अन्तर छ, महत्त्वपूर्ण कुरा उनी सानो विषयमा पनि गम्भीर चासो लिन्छन् । फोटोसेसनका क्रममा राम्रा तस्बिर आउन भनेर समयको ख्याल नगरी उनी आफैंले पनि पर्याप्त मेहनत गरेका थिए । उनी हरेक कुरामा कन्सस थिए, उनी धेरै बोल्नेभन्दा पनि धेरै सुन्ने व्यक्ति हुन्, राजेश सबैलाई उत्तिकै महत्त्व दिन्छन्, सबै ड्रेसअपमा उनले क्रु टिमसँग कस्तो छ ? ठीक छ ? यसो गर्दा राम्रो होला होइन ? भनेर धारणा बुझ्ने प्रयास गरिरहे । 
- sapahik विदुर खतिवडा

0 comments: On Rajesh Hamal - Versatile Hero of Nepali Movie Industry

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.