Latest Update :

Indira Joshi - A Nepali singer with Sweet Voice


टुट्यो तारा आकाशमा

तिम्रै खुसी मागिरहेँ
तिम्रो सम्झनामा नरोउ भन्छु म
झरे आँसु अनायासै
आँखा छोपी रोइरहेँ

यो गीतसँगै गायिका इन्दिरा जोशीको चर्चा पनि चुलिएको छ अचेल । म्युजिक भिडियो नबनाइए पनि किरण एल्बमको यो गीतले भने बजार तताएको छ । पहिलो नेपाली तारामा उत्कृष्ट पाँचमा पर्न सफल भएपछि सुरु भएको हो इन्दिराको गायन करिअर ।
आफ़ैले  एल्बम ननिकाले पनि अरुका कलेक्सन एल्बमबाट चर्चित बनेकी छिन् उनी ।

'सानैदेखि गाउन-नाच्न खप्पिस थिएँ,' इन्दिरा सम्भिन्छन्, 'दिनभरि कामको थकाइ मार्न साँझमा आमाले मलाई गीत गाउन लगाउनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो- तेरो स्वरले सबैको थकाइ मार्छ ।' साँच्चै अहिले उनको स्वरले श्रोताको थकाइ मार्न थालेको छ ।

सयभन्दा बढी गीत गाइसकिन् उनले । तीमध्ये पछिल्लो समयमा उनलाई ट्ट्यो तारा...ले निकै चर्चामा ल्याएको छ । 'मैले गर्न धेरै बाँकी छ,' गायनमा आफ्नो पाइला भर्खर टेकिएको बताउँदै इन्दिरा भन्छिन्, 'यो मेरो सुरुवात हो । अझ धेरै गर्न सक्ने हिम्मत र चाहना छ मेरो ।' त्यसो त चर्चित गजल नबिर्से तिमीलाई... अञ्जु पन्तको स्वरमा रेकर्ड हुनुअघि नै थुप्रैपटक स्टेजमा इन्दिराको स्वरमा हिट भइसकेको थियो । पछि सो गजल अञ्जुको स्वरमा रेकर्ड भयो । स्टेजमा उनको स्वरमा नबिर्से तिमीलाई... सुनेका स्रोता दर्शकले उनलाई अझै पनि सोध्ने गर्छन् रे- आफ्नो स्वरमा किन रेकर्ड नगराएको ? इन्दिरा नाजवाफ हुँदै आएकी छिन् श्रोताबाट बारम्बार तेर्सिने उही प्रश्नप्रति । 'त्यो गजल पहिला मलाई स्टेजमा गाउन लगाइयो । सबैले मेरो गायकीको प्रशंसा गरे । तर पछि मेरो स्वरमा किन रेकर्ड गराइएन, म आफ़ैलाई  थाहा छैन,' उनी भन्छिन्, 'पछि एफएममा सुनेपछि मात्र थाहा पाएँ मैले गाइरहेको गजल अरूकै स्वरमा रेकर्ड भएर बजारमा आइसकेछ । यसमा मेरो केही गुनासो छैन ।'

नवलपरासीबाट एलएलसी सकेपछि राजधानी छिरेकी इन्दिराले डोरेमी संगीत विद्यालयबाट संगीत प्रशिक्षण लिएको बताउँछिन् । त्यही क्रममा उनी पुगिन् नेपाली तारामा भाग लिन । नेपाली तारामा उनले देखाएको गायन शिल्पीले संगीत हस्तीहरूलाई प्रभावित पार्‍यो । 'पहिला म स्थानीय गायनमै सीमित थिएँ । नेपाली ताराले मलाई उच्च प्लेटर्फम दियो,' उनी भन्छिन्, 'नेपाली तारामा सहभागी भएपछि मात्र मैले गायनमै करिअर बनाउने निर्णय गरेकी हुँ ।' इन्दिरा आधुनिक, पप, र्‍याप, रिमिक्स, गजल तथा राष्ट्रिय सबै प्रकारका गीत गाउने गरेको बताउँछिन् । 'म भर्सटाइल सिंगर बन्न चाहन्छु,' इन्दिरा भन्छिन्, 'त्यसकारण म सबै प्रकारका गीत गाउँछु । एउटै धार पक्रनुपर्छ भन्ने लाग्दैन मलाई ।' उनले गाएका माछी मार न हो बैनी, को हो त्यो जसले मलाई मोहनी लगायो, तिमी मेरो म तिम्रोलगायतका रिमिक्स गीत पनि लोकपि्रय भएका छन् ।

दुनियाँ फिल्मबाट पाश्र्व-गायनसमेत सुरु गरेकी उनले त्यसपछि च्यालेन्ज, उफ यो मन, फूल भए जिन्दगी, यो हो अमेरिका, सिन्दूरलगायतका फिल्मका गीत गाइसकेकी छिन् । आफूले गीत गाएका कतिपय फिल्म निर्माण नुहँदा र कतिपयचाहिँ प्रदर्शन नहुँदा फिल्मी गायनले सन्तुष्ट नबनाएको गुनासो छ उनको ।

सांगीतिक कार्यक्रमको सिलसिलामा पोर्चुगल, स्पेनलगायतका मुलुक पुगिसकेकी उनी आफू भारतीय गजलगायक गुलाम अलीको असली फ्यान भएको बताउँछिन् । भन्छिन्, 'म गुलाम अलीका गीतबाट निकै प्रभावित छु । उहाँको स्वर मलाई निकै राम्रो लाग्छ ।' त्यसो त नेपाली गायक-गायिकामा भने अरुणा लामा, भक्तराज आचार्य, रिमा गुरुङ, स्वरूपराज आचार्यको स्वर मन पर्छ रे उनलाई ।

गोल्डेन गेट कलेजमा एमबिएस अध्ययरत यी 'ब्युटी विथ माइन्ड' इन्दिरालाई हिरोइन बन्ने अफर पनि आउने गरेका छन् । 'हिरोइन नै बन्ने चाहना भने छैन,' उनी भन्छिन्, 'तर राम्रो कथा, पावरफुल रोल भएमा भने सोच्न सकिन्छ । तर, मेरो पेसा भने गायन नै रहनेछ ।'   लक्ष्मण सुवेदी Source :  NayaPatrika

0 comments: On Indira Joshi - A Nepali singer with Sweet Voice

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.